बिहीबार, वैशाख ६, २०८१
10:05 | १४:५०

कोरोनाबाट ज्यान गुमाउंदैछन् लन्डनका बस ड्राइभर

नेपाली लिङ्क अप्रिल १६, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा लन्डनका बस चालकहरु पनि छन् ।

अत्यावश्यकीय क्षेत्रमा काम गर्ने कि वर्कर्सको सेवामा खटिएका लन्डन यातायातका दुई दर्जन बढि कामदारको कोभिड १९ बाट निधन भइसकेको छ ।

ट्रान्सपोर्ट फर लन्डन (टिएफएल) ले अहिलेसम्म बसचालकसहित आफ्ना २६ सदस्यहरु गुमाएको जनाएको छ ।

लन्डन मेयर सादिक खानले रेल र बस ड्राइभरहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) उपलब्ध गराउन असमर्थ भएको आलोचना खेपिरहंदा टिएफएलका कर्मचारीको मृत्यु हुने क्रम जारी छ ।

श्रमिकहरुको हितमा कार्यरत संगठन (ट्रेड युनियन) ले ‘टिएफएल’लाई उसका कर्मचारीहरुका लागि ‘मास्क’ र पन्जा उपलब्ध गराउन माग गरेको छ ।

केही बस चालकहरुले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनेका छन् कि उनीहरुले हांक्ने बस राम्ररी सफाइ पनि गरिन्न । सुरक्षाको लागि पर्याप्त बन्दोबस्त नभए अब बिस्तारै चालकहरुले काममा आउन नसक्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी समेत दिएका छन् ।

यसबैबीच, बस चालकहरुको सुरक्षाबारे चासो र चिन्ता व्यक्त भइरहंदा ‘टिएफएल’ले भने उपलब्ध स्रोत, साधनको उपयोग गरी सक्दो कोशिस गरिरहेको बताएको छ । चालकहरुको यात्रुसंगको दुरी कम गर्ने प्रयासमा लण्डनका कैयौं रुटमा अहिले बीच वा पछाडिकै ढोकाबाट यात्रु चढाउने समेत गर्न थालिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू