शुक्रबार, चैत १६, २०८०
07:18 | १३:०३

नेपाली लिंकको परीक्षण प्रकाशन आरम्भ

नेपाली लिङ्क अप्रिल ६, २०२०

लन्डन । नेपाली लिंकले परीक्षणका रुपमा आजदेखि आफ्नो प्रकाशन सुरु गरेको छ । यही अप्रिल १३ तारिख सोमबार नेपाली नयाँ वर्षकै दिनदेखि औपचारिक प्रकाशनमा जाने हाम्रो तयारी छ ।

पहिलो एक साता परीक्षणका रुपमा प्रकाशन गरेर आफ्नो औपचारिक प्रकाशन सुरु गर्ने हाम्रो योजना छ । परिक्षणकै अवधिमा पनि हामीले नियमित रुपमा समाचार, रिपोर्ट, अन्तरवार्ता, लेख, भिडियो सामग्रीहरु प्रकाशन गर्दै जानेछौं । कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको महामारीको यस घडीमा हाम्रो समुदायका लागि आवश्यक जानकारी, सूचना र सचेतनालाई हामीले आफ्नो पहिलो प्राथमिकतामा राख्नेछौं ।

हुन त अहिले कोरोनाको महामारीले सारा विश्वलाई नै सताएको छ । बेलायतमा पनि संक्रमण आक्रामक रुपमा फैलिंदै गएको छ, देश नै करिब लकडाउनको अवस्थामा छ । यो विषम र जटिल अवस्थामा प्रकाशन सुरु गर्नु पक्कै पनि चुनौतिपूर्ण थियो । तर हामीले यही चुनौतिलाई स्वीकार्दै हाम्रा पाठक र समुदायलाई सुसूचित गर्ने दायित्ववोधसहित प्रकाशन सुरु गरेका छौं ।

हाम्रो समुदायका लागि सूचना र समाचारहरु पस्किने मात्र होइन, एकआपसको सद्भाव र एकता बढाउने लक्ष्य समेत लिएर नेपाली लिंक तपाईंहरुमाझ आइपुगेको छ । समाचार र सूचनाका माध्यमले संसारभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने लिंकका रुपमा अघि बढ्ने हाम्रो अठोट छ ।

हामी समस्त पाठक एवं शुभचिन्तकहरुबाट रचनात्मक सल्लाह सुझाव र प्रतिक्रिया सधैं अपेक्षा गरिरहनेछौं । तपाईंहरुको आवश्यकता, चाहना र अपेक्षालाई नै मार्गदर्शनका रुपमा ग्रहण गरेर अघि बढ्दै जाने हाम्रो योजना छ । यहांहरुसंग भएका समाचार वा विचार प्रदान गरेर सहयोग गर्न पनि हामी आग्रह गर्दछौं । (सम्पादक)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू