मंगलबार, वैशाख १८, २०८१
05:04 | ०९:४९

लुम्बिनीमा विश्व शान्तिधाम निर्माणको प्रोजेक्ट लिएर रिन्पोचे लन्डनमा

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२१

लन्डन । तीन दशक यता प्रसिद्ध बुद्धिष्ट योग गुरु एवं लेखक रिन्पोचे स्याल्पाले विश्व नघुमेको ठाउं सायद छैन् । अमेरिका, युरोप, एसिया लगायत सबै महादेश घुमिसके उनी । उनले विश्वप्रसिद्ध हार्वर्ड, यल लगायतका विश्वविद्यालयमा पनि प्रवचन दिइसकेका छन् । जति ठाउं पुगे, त्यहांका मानिसहरु वास्तविक रुपमा खुशी रहेको उनले कत्ति महशुस गरेनन् ।

रिन्पोचे अहिले यस्तो महत्वकांक्षी प्रोजेक्टमा जुटेका छन्, जहांबाट विश्वका मानिसहरु खुशी प्राप्त गर्छन्, शान्तिको अनुभूत गर्छन् ।

लुम्बिनीमा विश्व शान्तिधाम निर्माणको प्रोजेक्ट लिएर अमेरिका हुँदै अहिले लन्डन आइपुगेका रिन्पोचेले एक सांझ आफ्नो कन्सेप्ट सुनाए, ‘पवित्र भूमि लुम्बिनीमा शान्ति धाम निर्माण गरेर विश्वभरिका मानिसलाई नेपाल शान्ति र खुशीको भूमि हो भन्ने सन्देश दिने मेरो उद्देश्य हो ।’

विश्वका आध्यात्मिक शहरहरु जस्तै मक्का मेदिना, जेरुसेलम, भ्याटिकन सिटी, वराणसी वा बोधगया जस्तै लुम्बिनीलाई विश्व आकर्षणको केन्द्र बनाउने सपना बोकेर हिंडेका रिन्पोचेको प्रोजेक्टको अनुमानित खर्च झण्डै ३० मिलियन डलर छ । ‘क्राउड फण्डिङ’ बाट रकम जुटाउने परिकल्पना छ उनको ।

यो महत्वकांक्षी प्रोजेक्ट कसरी सम्भव छ ? प्रश्नमा उनले सुनाए, ‘मैले प्रतिव्यक्ति एक रुपियाँ, एक पाउण्ड वा एक डलर संकलन अभियान शुरु गरेको छु । देश विदेशमा रहेका नेपाली एवं विदेशीहरुले यो योजनालाई समर्थन गरिरहनु भएको छ र यसले पूर्णता पाउनेमा म पूर्ण विश्वस्त छु ।’

अमेरिकी गैर नाफामुलक संस्था रेनग्रीग एशे इंकले चन्दा तथा आर्थिक व्यवस्थापन गरिरहेको छ भने विश्वप्रख्यात डेलोइटले लेखा परिक्षण गर्दछ।

उक्त विश्व शान्तिधामको निर्माण कार्य शुरु भइसकेको छ । २८० फिट लम्बाइ, ४८ फिट चौडाइ, ३६ फिट उचाईंको मेकानिकल, इलेक्ट्रिक, भेन्टिलेसन र प्लम्बिङ (एमइभिपी) भवनको काम सकिइसकेको छ भने दशैंपछि अरु काम अघि बढ्ने उनले सुनाए ।

सन् २०२४ सम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त विश्वधाममा संग्रहालय, पुस्तकालय, ५ हजार जना अट्ने क्षमताको सम्मेलन हल, प्रवचन कक्ष, युनिभर्सल पिस इन्सटिच्यूट, रिट्रिट सेन्टर आदि रहनेछन् । डिजाइन विश्वमै पृथक खालको भएको  रिन्पोचे स्याल्पाको दावी छ । यसमा अन्तर्राष्ट्रिय आर्कीटेक्टहरु संलग्न थिए  ।

‘म विश्वभरका शान्तिप्रेमी नेपालीलाई आफ्नो तर्फबाट सानो सहयोग गरिदिन अपिल गर्छु’, रिन्पोचेले भने, ‘विश्व शान्तिको उद्गम थलो बनाउन मनबाट खुशी भएर दान गर्नु भयो भने प्रोजेक्ट असम्भव छैन् ।’

चार पुस्तकका लेखक रिन्पोचे नेपालले विश्वलाई शान्ति दिन सक्ने विश्वास व्यक्त गर्छन् । ‘शान्ति भनेको स्वतन्त्रता हो, विना स्वतन्त्रता शान्ति सम्भव छैन्’, उनी भन्छन्, ‘अपेक्षा, डरमा स्वतन्त्रता कदापी हुन्न ।’

नेपालीहरु उल्लेख्य रहेका विश्वका प्रत्येक देशमा स्टेरिङ कमिटी बनाउने रिन्पोचेको योजना छ । यही मंगलबार उनी बेलायतका नेपाली तथा विदेशीसंग जूममार्फत प्रोजेक्टबारे साक्षात्कार गर्दैछन् । अमेरिकामा सकारात्मक प्रतिक्रिया पाएपछि झन् उत्साहित छन् उनी ।

सन् १९८८ देखि अमेरिका बस्न थालेका उनी नेपाल पनि त्यत्तिकै बस्छन् । उनले कपनमा संचालन गरिरहेको स्याल्पा मोनास्ट्रीमा १५० जना विद्यार्थीले बौद्ध शिक्षा अध्ययन गरि रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू