मंगलबार, वैशाख १८, २०८१
05:57 | १०:४२

पूजा गर्दा बालेको बत्तीले जल्यो बेलायतमा नेपालीको घर (भिडियो)

बेलायतका नेपाली आगलागीको उच्च जोखिममा


लण्डन । बेलायतको फार्नबरोस्थित एक नेपालीको घरमा भिषण आगलागी भएको छ ।

फार्नबरोको ‘कर्मादन क्लोज’ स्थित खगराज थापाको घरमा शुक्रबार मध्यान्ह भएको आगलागीबाट घरको उपल्लो तला पूर्णरुपमा जलेको छ । आगलागी र आगो निभाउन प्रयोग गरिएको पानीका कारण भुईंतलामा समेत ठूलो क्षति पुगेको छ ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र परिवारका सबै सदस्य सकुशल रहेको स्थानीय ‘रश्मोर फायर स्टेसन’ का स्टेसन कमाण्डर रिचर्ड ओरामले नेपाली लिंकलाई जानकारी दिए ।

आगलागीपछि घर बस्न लायक नरहेका कारण उनीहरुलाई स्थानीय काउन्सिलले आपतकालीन रुपमा वैकल्पिक आवासको व्यवस्था गरिदिएको छ ।

पीडित परिवारलाई उद्धृत गर्दै रश्मोर फायर स्टेसनले दिएको जानकारी अनुसार, शुक्रबार मध्यान्ह सवा १२ बजेतिर आगो शुरु भएको थियो । घरको उपल्लो तलामा पूजा गर्ने क्रममा बालिएको बत्तीबाट सल्किएको आगो तीव्र गतिमा ‘लफ्ट’ तिर फैलिएको थियो ।

घरको माथिल्लो तला आगोले पूर्ण रुपमा नष्ट गरेपनि तल्लो तलामा आशिंक क्षति भएको र उक्त घरसंगै जोडिएको नेपालीको अर्को घर भने सुरक्षित रहेको बताइएको छ ।

आगलागीको सूचनापछि आएको ‘रश्मोर फायर स्टेसन’ को अग्नी नियन्त्रक टोलीलाई आगो नियन्त्रणमा लिन २० मिनेट लागेको थियो ।

बेलायतका नेपालीहरु आगलागीको उच्च जोखिममा

‘रश्मोर फायर स्टेसन’ का स्टेसन कमाण्डर रिचर्ड ओरामले शुक्रबार आगलागीमा परेको घरमा ‘स्मोक डिटेक्टर’ नराखिएको आफूहरुले पाएको बताए ।

‘स्मोक डिटेक्टरले आगलागी नियन्त्रणमा ठूलो सहयोग गर्छ भनेर बुझ्न जरुरी छ । संयोगले दिउँसोमा घटना भयो, रातिमा भएको भए मानवीय क्षति पनि हुन सक्ने जोखिम रहन्थ्यो’, उनले भने , ‘छिमेकी नेपालीको घरमा पनि कुनै डिटेक्टर देखेनौं । हामीले नै दुई वटा डिटेक्टर राखिदिएर फर्कियौं ।’

आगलागीका दृष्टिले स्थानीय नेपालीहरुलाई उच्च जोखिमयुक्त समुदायका रुपमा राखिएको स्टेसन कमाण्डर ओरामले बताए ।

‘धेरै नेपालीहरुमा भाषाको समस्या छ । कतिपय त आगलागी शुरु भइसकेपछि पनि तत्काल हामीलाई खबर गर्दैनन् । उनीहरुको पकाउने तरिका पनि बढी जोखिमपूर्ण छ’, उनले भने ।

कमाण्डर ओरामले घरमा ‘स्मोक डिटेक्टर’ नहुनेहरुलाई तत्काल आफ्नो स्थानीय फायर स्टेसनलाई सम्पर्क गर्न सुझाव दिएका छन् । साथै, आगलागी भइहालेको अवस्थामा तत्काल ‘९९९’ मा टेलिफोन गरेर पनि क्षति कम गराउन सकिने उनको सल्लाह छ ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे पनि नेपाली समुदायमा अग्नी सुरक्षासम्बन्धी थप सतर्कता आवश्यक रहेको बताउँछन् ।

‘सानो असावधानीले ठूलो दुर्घटना निम्त्याउँछ भन्ने उदाहरणका रुपमा यो ताजा घटनालाई लिन सकिन्छ’, बेल्वासे भन्छन्, ‘पकाउँदा होस् वा पूजा गर्ने बेलामा, आगोको प्रयोग गर्दा सधैं सतर्क र होशियार हुन म सबैलाई आव्हान गर्दछु ।’

हेरौं भिडियो :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू