शनिबार, २८ नोभेम्बर, २०२६
23:20 | ०५:०५

लन्डनमा स्वास्थ्य चिया संवाद- बाँडियो स्तन क्यान्सर र मानसिक स्वास्थ्यबारे जानकारी र सल्लाह

नेपाली लिङ्क नोभेम्बर २८, २०२६

लन्डन- साउथ इष्ट लन्डनको नेपाली समुदायका लागि स्तन क्यान्सर, मानसिक स्वास्थ्य तथा बेलायतको स्वास्थ्य सेवामा पहुँचसम्बन्धी एक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

शनिबार प्लमस्टेडस्थित चर्च अफ क्राइस्ट द किङमा आयोजित कार्यक्रममा एक सय बढी स्थानीय नेपालीहरूको सहभागिता थियो। उल्लेख्य संख्याका महिला सहभागी कार्यक्रममा केही सहभागी पुरुष समेत थिए ।

‘स्वास्थ्य चिया’ अभियानले एनएचएस साउथ इष्ट लन्डन क्यान्सर एलायन्ससँगको सहकार्यमा गरेको कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डनका विभिन्न क्षेत्रबाट सहभागी आएका थिए।

सो अवसरमा स्तन क्यान्सर, मानसिक स्वास्थ्य तथा बेलायतको स्वास्थ्य सेवामा पहुँच र उपलब्ध सुविधाका विषयमा जानकारी गराउने प्रस्तुतिहरुका साथै निःशुल्क स्वास्थ्य चेकजाँच र खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य चिया टीम मेम्बर डा प्रीति गुरुङले जानकारी दिइन्। साथै, सहभागीहरूले विशेषज्ञ स्वास्थ्यकर्मीहरुसंग स्वास्थ्यसम्बन्धी जिज्ञासा राख्ने, आफ्ना समस्या सुनाउने तथा परामर्श र सुझाव लिने अवसर समेत पाएको उनले जनाइन्।

डा इन्दिरा योञ्जन लामा

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन सदस्य एवं क्याम्ब्रिज विश्वविद्यालय अस्पतालकी प्लास्टिक सर्जन डा इन्दिरा योञ्जन लामाले स्तन क्यान्सर, यसको पहिचान, परीक्षण तथा किन समयमै चेकजांच र स्वास्थ्य सेवा लिन महत्वपूर्ण छ भन्ने विषयमा प्रस्तुति दिइन्। उनले स्तन क्यान्सरसम्बन्धी जानकारीका साथै स्तनको आफै परीक्षण गर्ने तरिकाबारे सहभागीहरूलाई जानकारी गराइन्। पुरुषहरुमा पनि स्तन क्यान्सर हुन सक्ने जानकारी दिंदै उनले त्यसका लक्षणहरुबारे बताइन्।

अक्सलिज एनएचएस ट्रष्टमा कार्यरत विशेषज्ञ मनोचिकित्सक डा रश्मिना श्रेष्ठले मानसिक स्वास्थ्य तथा ‘वेलबिइङ’ सम्बन्धी प्रस्तुति दिँदै मानसिक स्वास्थ्य समस्यालाई बुझ्ने, त्यसबारे खुलेर कुरा गर्ने तथा आवश्यक सहयोग र सेवा लिनुपर्ने विषयमा जानकारी दिइन्। त्यस्तै, किङ्स कलेज अस्पतालकी स्वास्थ्य प्रवर्द्धन विशेषज्ञ जुलिया स्मिथले साउथ इष्ट लन्डनमा सञ्चालन हुँदै आएको स्तन क्यान्सर परीक्षण कार्यक्रम तथा उपलब्ध स्वास्थ्य सेवाबारे जानकारी दिइन्।

डा. रश्मिना श्रेष्ठ

कार्यक्रममा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच पनि गरिएको थियो। त्यस अवसरमा सहभागीहरुको रक्तचाप, मधुमेह, उचाइ, तौललगायत विभिन्न स्वास्थ्य परीक्षणका साथै उनीहरुका स्वास्थ्य समस्या सुनेर बेलायतमा उपलब्ध स्वास्थ्य सेवाहरु कसरी लिने भन्नेबारे सल्लाह दिइएको एशोसिएसनकी महासचिव श्रृजा डंगोलले जानकारी दिइन्।

सोही अवसरमा योग्य व्यक्तिहरूका लागि सञ्चालन गरिएको कोभिड–१९ तथा फ्लु विरुद्धको खोपबाट समेत कयौं सहभागी लाभान्वित भएको स्वास्थ्य चिया टीम मेम्बर फार्मासिस्ट शोभा शर्मा कँडेलले जानकारी दिइन्।

स्वास्थ्य चिया टीम मेम्बर डा प्रीति गुरुङले अर्की मेम्बर प्यारामेडिक सोफिया राईले नेपाली स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू तथा स्थानीय समुदाय समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको जनाउँदै सबैको सहयोगले कार्यक्रमलाई सफल बनाएको बताइन्।

कार्यक्रममा ‘स्वास्थ्य चिया’ अभियान च्यारिटी संस्थाका रूपमा दर्ता भएको घोषणा गरिएको थियो। अभियानकी नेतृत्वकर्ता डा. नुमा थेवेले स्थापना भएको एक वर्षभित्रै च्यारिटीका रूपमा दर्ता हुन सफल भएकोमा खुशी व्यक्त गरिन्। उनले अभियानलाई यहाँसम्म ल्याउन योगदान पुर्‍याउने टीमका सदस्यहरू, नेपाली स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू, सहयोगीहरू, स्थानीय नेपाली समुदाय तथा एनएचएस साउथ इष्ट लन्डन क्यान्सर एलायन्सलगायत सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।

च्यारिटीका रूपमा दर्ता भएपछि अभियानको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै डा. थेवेले आउँदा दिनमा अझ प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढ्दै जाने विश्वास व्यक्त गरिन्।

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको पहलमा सुरु भएको ‘स्वास्थ्य चिया’ अभियानले नेपाली समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, बेलायतमा उपलब्ध स्वास्थ्य सेवा तथा सुविधाबारे जानकारी दिने र नेपाली भाषामै स्वास्थ्यसम्बन्धि आवश्यक जानकारी तथा परामर्श उपलब्ध गराउने लक्ष्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

डा. नुमा थेवेको नेतृत्वमा रहेको अभियानको टीमका मूल सदस्यमा डा. प्रीति गुरुङ, फार्मासिस्ट शोभा शर्मा कँडेल तथा प्यारामेडिक सोफिया राई छन्।

स्वास्थ्य चिया टीम

जुलिया स्मिथ

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू