तमु प्ये ल्हु संघ यूकेद्वारा बाढीपीडितलाई २६ लाख ५० हजार सहयोग


तमु प्ये ल्हु संघ यूकेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत दिन २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङको नेतृत्वमा आएको टोलीले बुधबार गृहमन्त्री सुधन गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
गृहमन्त्री गुरुङको पुल्चोकस्थित निवासमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो । संघले बेलायतमा रहेका आफ्ना सदस्य, आमा समूह तथा ग्लोष्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदायबाट रकम संकलन गरेको जनाएको छ । संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा संघका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर गुरुङ र गमबहादुर गुरुङ, युथ एम्बेसडर सृजना गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज गुरुङ र तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङलगायत सहभागी थिए ।
संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङले तमु प्ये ल्हु संघ यूके सांस्कृतिक तथा सामाजिक संस्था भएको बताए । उनका अनुसार संघले नेपालमा आइपर्ने विपद्मा सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा काम गर्दै आएको छ । संघले यसअघि भूकम्पपीडितलाई सहयोग गर्नुका साथै कोभिड महामारीका बेला राहत वितरण गरेको थियो ।
संघका अध्यक्ष क्या। डेमबहादुर गुरुङका अनुसार बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायले सन् २००५ मा तमु प्ये ल्हु संघ यूके स्थापना गरेका हुन् । बेलायतमा दर्ता भई सञ्चालनमा रहेको संघले गुरुङ संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नेपालमा सामाजिक तथा परोपकारी काममा सहयोग गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



