एनआरएन अभियानका २३ वर्ष: उपलब्धि उल्लेख्य तर जारी छ लडाईं


‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले आज २३ वर्ष पूरा गरी नयाँ अध्याय सुरु गरेको छ।
एनआरएन दिवसको यस अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
गैरआवासीय नेपाली दिवस उत्सव मनाउने अवसर मात्र नभई मातृभूमिप्रतिको माया, जिम्मेवारी र योगदानका विषयमा आत्ममूल्याङ्कन गर्ने तथा आगामी यात्राका लागि साझा सङ्कल्प गर्ने महत्त्वपूर्ण अवसर पनि हो।
आफ्नो स्थापनाको २३औँ वर्षगाँठ मनाइरहँदा ९० भन्दा बढी देशमा सञ्जाल विस्तार गरी विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकबद्ध गर्न संघ सफल भएको छ।
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ हाम्रा अग्रजहरूको अथक प्रयास र समर्पणले स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको छ।
स्थापनाकालदेखि उठाउँदै आएको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई व्यवहारमा रूपान्तरण गर्न भने अपेक्षाकृत प्रगति हुन सकेको छैन।
हालको संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र वंशजको नागरिकताको निरन्तरताका लागि संघले प्रतिबद्धताका साथ पैरवी गर्दै आएको छ।
नेपालको जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीहरूको लगानी प्रशंसनीय छ। लामो समयदेखिको पैरवीबाट भर्खरै १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत विदेशमा रहेका ठूला लगानीकर्ता मात्र नभई वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा साना र मझौला लगानीकर्ताहरूलाई पनि देशमा लगानी भित्र्याउने बाटो खुलेको छ।
यद्यपि नागरिकताको विषय सम्बोधन नहुँदा गैरआवासीय नेपालीहरूमा लगानी भित्र्याउने आत्मविश्वास बढ्न सकेको छैन।
आर्थिक लगानी मात्र नभई बौद्धिक लगानी, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई पनि प्रोत्साहन गर्न संस्थागत प्रयास जारी छन्। यसका लागि चौथो विश्व ज्ञान सम्मेलन आयोजना गरिँदै छ भने एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमीको स्थापनाका लागि गृहकार्य सुरु भएको छ।
साथै, विश्वभरका महिलालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले प्रथम एनआरएन विश्व महिला सम्मेलन आयोजना गरिँदै छ।
वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकका लागि सुरक्षित र व्यवस्थित आप्रवासन, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, उनीहरूको कमाइको उत्पादनमूलक क्षेत्रमा लगानी तथा विदेशमा बस्ने नेपालीहरूको मतदानको अधिकारलगायतका क्षेत्रमा अझै काम गर्नुपर्ने स्थिति छ।
श्रमिकहरूको हकहितका लागि आवाज उठाउने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी पूरा गर्दै आए पनि संघको एक्लो प्रयासले मात्र यो सम्भव छैन भन्ने हामीले महसुस गरेका छौँ।
अतः विदेशमा रहेका नेपालीहरूको हकहितका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग हातेमालो गर्ने उद्देश्यले संघले ‘Global Engagement, Partnership & Outreach’ कार्यक्रम अघि सारेको छ। यसअन्तर्गत संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) जस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको छ भने नेपालमा विपद्का बेला सहकार्य गर्न हालै अन्तर्राष्ट्रिय रेडक्रससँग सम्झौता भएको छ।
जलवायु परिवर्तनले नेपालमा पारेको असरलगायत नेपालको हितसँग सम्बन्धित विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन संघले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यसैगरी, नेपालमा उत्पादन भएका वस्तुहरूलाई विश्व बजारमा पुर्याउन तथा पर्यटन प्रवर्द्धन गर्न नेपालको निजी क्षेत्रका संघसंस्थाहरूसँग प्रभावकारी ढङ्गले सहकार्य गर्ने नीति लिएको छ।
विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँग जोड्ने उद्देश्यले युवा केन्द्रित कार्यक्रमहरूलाई विशेष महत्त्व दिइएको छ। यसका लागि पहिलो दोस्रो पुस्ता विश्व सम्मेलन काठमाडौंमा आयोजना गरिँदै छ।
यसैगरी, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको छ। विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूको सहयोगार्थ विदेश प्रस्थान गर्नुअघिदेखि नै विभिन्न कार्यक्रमहरू अघि सारिएका छन्।
बदलिँदो विश्व परिवेश, प्रविधिको द्रुत विकास, नयाँ पुस्ताको अपेक्षा र गैरआवासीय नेपाली समुदायको विविधतालाई आत्मसात् गर्दै संघलाई अझ आधुनिक, समावेशी, प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न अघि सारिएको Rebranding कार्यक्रमका यी केही उदाहरण हुन्।
सीमित घेराभित्र नरही सबै गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्था बनाउन सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था गरिँदै छ।
कोभिड महामारी र तत्पश्चात् संघभित्र देखिएको असहज परिस्थितिले संघ र आम गैरआवासीय नेपालीबीचको संवाद र सम्पर्क टुटेको महसुस गरी संघले विश्वका छवटै क्षेत्रमा क्षेत्रीय सम्मेलनहरूको आयोजना गर्दै छ। यी सम्मेलनहरूमा यहाँहरूको सक्रिय सहभागिताका लागि हार्दिक अपिल गर्दछु।
अन्त्यमा, विगतका विपद्मा जस्तै हालै भोटेकोशीका बाढीपीडित नेपालीहरूलाई सहयोग गर्नुहुने विश्वभर छरिएर रहनुभएका गैरआवासीय नेपालीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस्ता विपद्का बेला मातृभूमिको ऋण चुकाउने ऐतिहासिक अवसर पनि प्राप्त हुन्छ।
संघले सरकारसँग परामर्श गरी पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ। राहतको चरणमा जस्तै पुनर्निर्माणमा पनि संघसँग हातेमालो गर्न अनुरोध गर्दछु।
संघको २३ वर्षको यात्रामा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा संघका संस्थापक र अग्रजहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
आउँदै गरेका दशैँ, तिहार, छठलगायतका पर्वहरू यहाँहरू सबैका लागि शुभ र मंगलमय रहून्।
मिति: ११ अक्टोबर २०२६
डा. हेम राज शर्मा
अध्यक्ष
गैरआवासीय नेपाली संघ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



