आइतबार, २७ सेप्टेम्बर, २०२६
18:00 | २२:४५

बेलायतमा तेस्रो काव्य–सन्ध्या

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२६

एल्डरसट, बेलायत — बाँसुरीको मधुर धुनसँगै आठ कविले दुई दर्जनभन्दा बढी कविता वाचन गर्दै शनिबार बेलायतको एल्डरसटमा तेस्रो काव्य–सन्ध्या सम्पन्न गरेका छन्। मञ्चको एक छेउमा पूर्ण सुनुवारले बाँसुरी बजाइरहेका थिए भने बीच भागमा कविहरूले प्रवासी जीवन, सामाजिक पीडा र प्रकृतिमाथिको दोहनलगायत विषयमा कविता सुनाएका थिए।

साहित्य सङ्गालो बेलायतको आयोजनामा भएको कार्यक्रम शशी थापा सुब्बाको कविता वाचनबाट सुरु भएको थियो। त्यसपछि राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई र मुकुल दाहालले आ–आफ्ना तीन–तीनवटा कविता प्रस्तुत गरेका थिए।

वाचन गरिएका अधिकांश कवितामा प्रवासी जीवनका अनुभव, संघर्ष र पीडासँगै प्रकृतिमाथि भइरहेको दोहनका विषय समेटिएका थिए। राज श्रेष्ठ, आरएल श्रमजीवी र विजय हितानले रसुवामा आएको महाबाढीलाई केन्द्रमा राखेर लेखिएका आफ्ना ताजा कविता सुनाउँदा कार्यक्रम भावुक बनेको थियो।

कवि नरेश काङमाङ राईले कार्यक्रमको सहजीकरण गर्दै बीच–बीचमा चर्चित नेपाली कविताका हरफहरू वाचन गरेका थिए। कवितासँगै गुञ्जिएको बाँसुरीको धुनले कार्यक्रमलाई थप सांगीतिक र भावपूर्ण बनाएको थियो।

सन् २०२४ देखि हरेक वर्ष आयोजना हुँदै आएको काव्य–सन्ध्यामा औपचारिक समारोहभन्दा कविता वाचनलाई प्राथमिकता दिइँदै आएको आयोजकले जनाएको छ। साहित्य सङ्गालो बेलायतको आयोजनामा हुने कार्यक्रमको संयोजन साहित्यकार केदार सङ्केतले गर्दै आएका छन्। खुपेन सुनुवार, निर्भीकजंग रायमाझी, नरेश काङमाङ राई, प्रयास दुमी राई र जीवन तिवारीलगायत युवा लेखकहरू आयोजक समूहमा आबद्ध छन्।

काव्य–सन्ध्याको अवसरमा ‘नेपाल क्राफ्ट एन्ड बुक डटकम’ले नेपाली साहित्य तथा संस्कृतिसम्बन्धी पुस्तकहरू बिक्रीका लागि प्रदर्शनीमा राखेको थियो। उक्त कार्यक्रममा १०० जना जतीको सहभागीता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू