सटनमा गुन्जियो बांसुरीको धुन, कार्यक्रमबाट बाढी पीडितलाई एक लाख रुपैयाँ


लन्डन–बेलायतको सटनस्थित सेन्ट ओस्वाल्ड चर्चमा नेपाली कला, संस्कृति र संगीतमा समर्पित एक विशेष च्यारिटी कार्यक्रम भएको छ।
कार्यक्रममा प्रसिद्ध बाँसुरीवादक धनबहादुर गुरुङ्ग सहित तबला वादक रेशम पाचे, मादलवादक मिन गुरुङ्ग, सारंगीवादक केरजङ्ग गुरुङ्ग तथा बाँसुरीवादकहरू रफी श्रेष्ठ, पदम आचार्य र खुपेन्द्र गुरुङ्गले विभिन्न सांगीतिक प्रस्तुति दिए ।
नेपाली मौलिक बाजागाजा र संगीतको मधुर प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मनोरञ्जनसँगै नेपाली कला र संस्कृतिसँग जोडेको थियो ।
क्रोइडन नेपाली समाजका अध्यक्ष उषा बाँस्कोटा र कार्यक्रम मुख्य संयोजक रफी श्रेष्ठले मैनबत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रम सञ्चालन तबला वादक रेशम पाचेले गरेका थिए ।
कार्यक्रमबाट संकलित रु. १ लाख (एक लाख रुपैयाँ) रकम प्रधानमन्त्री राहत कोष, नेपालमा पठाइएको आयोजकहरूले जानकारी दिएका छन्। मनोरञ्जनसँगै मानवीय तथा सामाजिक सेवाको उद्देश्यसमेत बोकेको यस कार्यक्रमले नेपाली समुदायमा सहयोग र एकताको सन्देश प्रवाह गरेको छ।

कार्यक्रमका मुख्य संयोजक रफी श्रेष्ठ र पदम आचार्यले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, कलाकार, दर्शक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनीहरूले सबैको सहयोग, सहभागिता र सद्भावका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।
त्यसैगरी, कार्यक्रमको ध्वनि व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याउने साउन्ड इन्जिनियर हेमराज बिष्ट तथा कार्यक्रमका महत्वपूर्ण क्षणहरूलाई उत्कृष्ट तस्बिर र भिडियोमार्फत अभिलेखीकरण गर्ने फोटोग्राफर तथा भिडियोग्राफर कुशल श्रेष्ठलाई पनि आयोजकहरूले विशेष धन्यवाद दिएका छन्।
नेपाली संगीत, संस्कृति र सामाजिक सेवाको भावनालाई एकै ठाउँमा जोडेको यस कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र सांस्कृतिक एकताको भावना अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


