बिहीबार, २७ नोभेम्बर, २०२५
14:07 | १९:५२

पहिलोपटक मंगोलियन हार्ट व्याण्डसहित यूके आउँदै राजु लामा, कन्सर्ट १३ डिसेम्बर साँझ

नेपाली लिङ्क नोभेम्बर २७, २०२५

लन्डन । तीन वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमात्र होइन्, ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट प्रस्तुत गरेर अन्तर्राष्ट्रिय जगतमै चर्चा बटुल्न सफल गायक राजु लामा सबै उमेर समूहका दर्शकश्रोताको रोजाइमा छन् ।

दर्जनौं हिट गीतका कारण उनी हरेक नेपालीको मुटुको ढुकढुकीमा अटाउन सफल छन् । विशेष गरि, उनका हल्ला चलेछ, पर्खाइमा भिज्यो सिरानी, सायद तिम्रो बाटोमा मेरो पाइला नहोला, तिमीलाई देखेर हिमाल हांसेको तिम्रो गीत सुनेर मुनाल नाचेको, म माया लाउंदिन जस्ता कैयौं गीत हिट छन् ।

‘द भ्वाइस अफ नेपाल’ नामक गायन रियालिटी शोको निर्णायक समेत भइसकेका यीनै चर्चित गायक राजु लामा पहिलोपटक आफ्नो व्याण्ड ‘मंगोलियन हार्ट’ सहित यूके आउने भएका छन् ।

गायक लामाले आफ्नो व्याण्डको लाइभ म्यूजिकमा आउंदो १३ डिसेम्बर सांझ लन्डन ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा परफर्म गर्ने भएका हुन् । उक्त कन्सर्टको नाम राखिएको छ ‘मंगोलियन हार्ट लाइभ इन द यूके’ ।

लामाले कयौं पटक बेलायत आएर सोलो सांगीतिक प्रस्तुति दिएपनि व्याण्ड सदस्यहरुका साथ यहां आउन लागेको यो पहिलो हो ।

जिटी बास इन्टरटेनमेन्ट र सही सर्च डटकमले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कन्सर्टमा सहभागी हुन कलाकारहरु १० डिसेम्बर राती लन्डन आइपुग्ने कार्यक्रम छ ।

आयोजक जिटी बास इन्टरटेनमेन्टका निर्देशक रोज लामाले गायक लामाले यसअघि बेलायतमा सोलो परफर्मन्स धेरै गरेपनि टिमसहित पहिलोपटक आउन लागेको जनाए । बेलायतस्थित दर्शक श्रोताका लागि विशुद्ध नेपाली संगीत पस्कने आफूहरुको उद्देश्य रहेको उनले सुनाए ।

रोजका अनुसार, ६ बजे गेट ओपन हुनेछ भने गायक लामाले राती ८ देखि ११ बजेसम्म ननस्टप आफ्ना लोकप्रिय गीतहरु गाउनेछन् ।

पर्याप्त पार्किङ स्पेश, निशुल्क साथै ह्यारो वील्डस्टन ट्रेन स्टेशन नजिक भएको जनाउंदै उनले सहभागी भएर भरपुर मनोरन्जन लिन सबैमा निमन्त्रणा गरे ।

आयोजकले सहीसर्च डटकममार्फत अनलाइन टिकट खरिद गर्न सकिने जनाएका छन् । टिकट शुल्क ४५ पाउण्ड छ ।

लाइभ कन्सर्ट समापनपछि सोही भेन्यूमा डिजे काजीका साथ आफ्टर पार्टी समेत गर्ने तय भएको छ । कन्सर्टको टिकट लिएकालाई आफ्टर पार्टीमा प्रवेश निशुल्क हुने तर कन्सर्ट नआइ पार्टीमा मात्र आउन चाहनेले २० पाउण्ड तिर्नुपर्ने रोजले जानकारी दिए ।

आफ्टर पार्टी राती ११ देखि बिहान ४ बजेसम्म चल्नेछ । ‘योङ क्राउड’ लाई टार्गेट गरेर आफ्टर पार्टी गरिएको रोजको भनाइ छ ।

जिटी बेस इन्टरटेनमेन्टका अर्का निर्देशक विशाल मोक्तानले मंगोलियन हार्ट व्याण्ड स्थापनाको झण्डै ३३ वर्षमा पहिलोचोटी बेलायत आउन लागेकाले कन्सर्ट केही विशेष र पृथक हुने बताए ।

‘१६ वर्षदेखि म बेलायतमा लाइट, साउण्ड सिस्टम र डिजे गरिरहेको छु । ह्यारो लिजर सेन्टरमै पनि धेरै कार्यक्रम गरें र हेरें । तर, अहिले हामीले साउण्ड सिस्टम विल्कुलै फरक गरेका छौं, परिष्कृत पनि’, मोक्तानले भने ।

यसै कारण प्रोडक्सनमा धेरै खर्च भएको उनले बताए । विशालले बेलायतस्थित नेपाली गीतसंगीतप्रेमी सबैलाई कार्यक्रममा आइदिन अपिल गरेका छन् ।

आयोजक जिटी बास इन्टरटेनमेन्टका निर्देशकद्वय रोज लामा (बायां) र विशाल मोक्तान

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू