एनआरएनए यूकेका भावी कार्यक्रमः च्यारिटी डिनर, खेलकुददेखि ‘थेसिस’ लेखनसम्म



लन्डन – गैर आवासीय नेपाली संघ यूकेले आपतकालिन राहत कोषका लागि बेलायतका चारवटै राज्यमा च्यारिटी गर्ने निर्णय गरेको छ ।
गत आइतबार एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको भर्चुअल बैठकले बेलायतस्थित आपतमा परेका नेपालीहरुलाई सहयोग गर्न आपतकालिन कोषवृद्धिका लागि च्यारिटी गर्ने निर्णय गरेको हो ।
आपतकालिन राहत कोषका लागि स्कटल्याण्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, नर्दन आयरल्याण्ड समन्वय राज्य परिषद् र इंग्ल्याण्ड राज्य समन्वय परिषदमा छुट्टा छुट्टै च्यारिटी डिनर नाइट कार्यक्रम आगामी फेब्रुअरीबाट सुरु गरिने महासचिव दिवाकर पाण्डेयले बताए । उनकाअनुसार स्कटल्याण्डबाट सुरु हुने च्यारिटी नाइट इंग्ल्याण्डमा आएर समापन हुनेछ ।
उक्त कोषमार्फत पीडामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनए यूके अग्रसर हुंदै आएको छ । गत महिना संघले प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग गरेको थियो ।
बैठकले अन्तरराष्ट्र्रिय महिला दिवसका अवसरमा लण्डन र स्कटल्याण्डमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । महिला संयोजक बिनु लामिछानेको संयोजकत्वमा लन्डनमा ८ मार्चमा महिलाको स्वास्थ्य सम्बन्धी अन्तरक्रियासहित कार्यक्रम हुनेछ । त्यस्तै स्कटल्यान्डमा महिला उपाध्यक्ष कमला श्रेष्ठको संयोजकत्वमा ९ मार्चमा कार्यक्रम गरिने छ ।

बैठकले ‘देश विकासमा एनआरएनएको भूमिका, उपलब्धि र सम्भावना’ विषयक अन्तरराष्ट्रिय निवन्ध लेखन प्रतियोगिता पनि गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि भाषा साहित्य र संस्कृति विभाग संयोजक गोपी सापकोटालाई जिम्मा दिइएको छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।
यसै गरी एनआरएनए यूकेले खेलकुद क्षेत्रमा युवाहरुलाई सहभागी गराउन ‘अब खेल्छ एनआरएनए, अब दौडिन्छ एनआरएनए’ भन्ने नारासहित जुन, जुलाई र अगष्ट गरि तीन महिनामा सबै राज्यमा भलिबल, फुटबल र क्रिकेट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको जिम्मा एनआरएनए यूके उपाध्यक्ष तथा खेलकुद विभाग संयोजक उज्जवल कार्कीलाई दिइएको छ । आगामी २६ अप्रिलमा एनआरएनए यूकेको टिशर्ट लगाउंदै लन्डन म्याराथनमा उज्जवल कार्कीले भाग लिनेछन् ।
बैठकले एनआरएनएको उद्गमस्थल बेलायत एनसीसीले स्थापनाकालदेखि हालसम्म गरेका काम र उपलब्धिहरु लिपिबद्ध नभएकाले सबै उपलब्धि र भए गरेका काम लिपिबद्ध गर्न त्रिभुवन विश्वविद्यालयसंग समन्वय गरी ‘थेसिस’ लेख्ने र पछि पुस्तक प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त कार्यको संयोजन अध्यक्ष पुडासैनी र भाषा साहित्य संस्कृति विभाग प्रमुख सापकोटाले गर्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



