पूर्व गोर्खा आरोही बुढामगरले कृत्रिम खुट्टाले चढे विश्वको छैटौं अग्लो शिखर



लन्डन । नेपाली कीर्तिमानी आरोही तथा पूर्व गोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहायताले विश्वका सात अग्ला शिखर (सेभेन समिट) मध्ये छैटौं शिखर कार्स्टेन्स पिरामिड (पुन्काक जया) को सफल आरोहण गरेका छन्।
अक्टोबर १८ तारिख बिहान ७ बजे ओसिनियाको सबैभन्दा अग्लो यो शिखरमा पुगेर उनले कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका छन्।
सेभेन समिट अभियान अन्तर्गत विश्वका सातै महाद्वीपका अग्ला शिखर चढ्ने उनको यात्रामा यो छैटौं सफलता मिलेको हो।
उनले कार्स्टेन्स पिरामिड सात शिखरमध्ये सबैभन्दा प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको बताए।
उनको यो सफल आरोहणमा नेपालका मिङ्मा फोर्त्से, अविरललगायत स्थानीय गाइडहरूले सहयोग गरेका थिए। सेभेन समिट ट्रेक्स, फोर्टीन् पिक्स एक्स्पिडिशन र ट्रपिक एडभेन्चर पपुआ जस्ता संस्थाहरूले लजिस्टिक सहयोग पुर्याएका थिए।
बुढामगरले हालसम्म मोन्ट ब्लांक (४,८१० मि.), माउन्ट किलिमन्जारो (५,८९५ मि.), माउन्ट एभरेस्ट (८,८४९ मि.), डेनाली (६,१९० मि.), एकोनकागुवा (६,९६१ मि.) र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) को आरोहण गरिसकेका छन्।
उनले आफ्नो सफलताका लागि परिवार, साथीहरू, सहयोगी संस्था, समुदाय र प्रायोजकहरूलाई धन्यवाद दिँदै “हामी साथ रह्यौं भने असम्भव भन्ने केही पनि छैन” भन्ने प्रेरणा दिएका छन्।
अब उनी आफ्नो अन्तिम लक्ष्य अण्टार्कटिकाको माउन्ट भिन्सन (४,८९२ मि.) आरोहणका लागि आगामी डिसेम्बरमा प्रस्थान गर्दैछन्। उनले आगामी यात्राका लागि थप सहयोगको अपेक्षा राखेका छन्।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै मानवीय सामर्थ्यको एक अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।