लन्डनमा नेपाली भाषा सिकिरहेका बालबालिकासँग दशैं विशेष कार्यक्रम



लन्डन । तमु समाज यूकेले आफ्नो नेपाली भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरूसँग मिलेर विजयादशमी (दशैं) शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गत ११ अक्टोबर शनिबार लन्डनस्थित वेम्बली बारहम पार्कस्थित तमु समाज यूकेको सामुदायिक भवनमा कार्यक्रम भएको हो । निकै उल्लासमय वातावरणमा कार्यक्रम भएको समाजको भनाइ छ ।
कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित उक्त कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपालीमूलका बालबालिकाबीच नेपाली भाषा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो। ४० हप्ते निःशुल्क नेपाली भाषा कक्षाको माध्यमबाट यो पहल अघि बढाइएको हो।
कार्यक्रमको अवसरमा बालबालिकाहरूलाई दशैं पर्वको सांस्कृतिक तथा धार्मिक महत्वबारे जानकारी गराइयो। साथै उनीहरूले विभिन्न परिकारका परम्परागत नेपाली भोजन र पेयपदार्थको स्वाद लिँदै रमाइलो गरे।
कार्यक्रममा अभिभावक, शिक्षक तथा समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिताले उत्सवलाई अझै जीवन्त र हर्षोल्लासमय बनाएको समाजले जनाएको छ ।
भाषा संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता
कम्युनिटी लटरी फण्डद्वारा प्रायोजन गरिएको नेपाली भाषा कक्षा २२ मार्च २०२५ मा सुरु गरिए आठ महिनादेखि निरन्तर सञ्चालन हुँदै आएको छ। यस कार्यक्रमले बालबालिकालाई नेपाली बोल्ने, पढ्ने र लेख्ने सीप सिकाउने मात्र होइन, आफ्नै संस्कृति र पहिचानप्रति गर्व गर्न पनि जागृत गराएको छ।
ब्रेन्ट, इलिङ र ह्यारो नगरका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका सहभागी भाषा कक्षामा योग्य नेपाली शिक्षकहरूले रमाइलो र अन्तरक्रियात्मक शैलीमा अध्यापन गराउने गरेका छन् । तेस्रो वर्षमा प्रवेश गरेको यो पहलले बेलायतमा जन्मे हुर्केका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिसँग पुनःजोड्ने सेतुको रूपमा काम गरिरहेको छ।
तमु समाज यूकेले कम्युनिटी लटरी फन्डप्रति हार्दिक आभार व्यक्त गर्दै यसको निरन्तर सहयोगले कार्यक्रमलाई प्राप्त भएको अमूल्य योगदानको प्रशंसा गरेको छ। उक्त सहयोगले थप शिक्षकहरूको नियुक्ति, शैक्षिक सामग्री व्यवस्थापन र सहज अध्ययन वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ ।
समाजले संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङलाई आर्थिक समन्वय र नेतृत्वका लागि, विवेक केसी, श्रीमती मनिषा गौतम र श्रीमती कल्पना थापालाई बालबालिकाप्रतिको समर्पण र उत्कृष्ट शिक्षण योगदानका लागि साथै अर्बिन्द्र श्रेष्ठलाई संयोजन र अभिभावकहरूसँगको प्रभावकारी समन्वयका लागि विशेष धन्यवाद व्यक्त गरेको छ ।
त्यसैगरी, तमू समाज यूकेकी वर्तमान अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेलाई सामुदायिक भवन उपलब्ध गराइ निरन्तर सहयोग गरेकामा विशेष धन्यवाद दिइएको छ ।
विजयादशमी विशेष समारोहमा अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, युवा सदस्य सुश्री सुबिना घले, संयोजक अर्बिन्द्र श्रेष्ठ तथा शिक्षकहरू विवेक केसी, मनिषा गौतम र कल्पना थापाको समेत उपस्थिति थियो ।
सो अवसरमा अध्यक्ष घलेले विद्यार्थीलाई दशैंको शुभकामना र उपहार प्रदान गर्दै निरन्तर प्रगति र खुशीको कामना गरिन् ।
कार्यक्रममा कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित नेपाली भाषा कक्षा २०२५ डिसेम्बरसम्म निरन्तर सञ्चालन हुने र त्यसपछि पनि तमु समाज यूकेको पहलमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । समाजले अभिभावकहरूलाई आफ्ना सन्तानलाई नेपाली भाषा सिक्न, बोल्न र अभ्यासका लागि निरन्तर प्रोत्साहन गर्न आग्रह गरेको छ ।
कार्यक्रम बिहान ११ः३० बजे सुरु भई दिउसो २ बजे समापन भएको थियो । सो अवसरमा पेयपदार्थ र दिवाभोज तमु समाज यूकेले व्यवस्थापन गरेको थियो ।
-शिव कुमार गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५