शनिबार, ४ अक्टोबर, २०२५
13:56 | १८:४१

देउसी भैलोसहित दशैँ तिहार मनाउँदै चार्ल्टन नेपाली समाज, रामजी खाँड आउँदै

नेपाली लिङ्क अक्टोबर ४, २०२५

लन्डन- साउथ इष्ट लन्डनस्थित चार्ल्टन नेपाली समाज यूकेले यस वर्ष पनि हिन्दूहरूको महान् पर्व बडा दशैं र तिहारको अवसरमा विशेष शुभकामना साँझ आयोजना गर्ने भएको छ ।

समाजले यही १२ अक्टोबर आइतबार स्थानीय मेरिडियन स्पोर्ट एण्ड सोसल क्लबको सभाहलमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । हरेक वर्षजस्तै यसपटक पनि समाजले दशैं–तिहारलाई हर्षोल्लासका साथ मनाउँदै आएको परम्परालाई निरन्तरता दिने जनाएको छ । सो अवसरमा देउसी भैलोसहितका विविध मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरु गरिने भएको छ।

कार्यक्रममा ख्यातिप्राप्त गायक रामजी खाँडको विशेष प्रस्तुति रहनेछ भने सहभागीलाई स्वादिष्ट दुई कोर्सको नेपाली भोजन उपलब्ध गराइनेछ । साथै डीजेमा नाचगान, स्थानीय नानी–बाबुहरूको आकर्षक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहने समाजले जनाएको छ ।

समाजका अध्यक्ष बसन्त खनालले नेपालीहरू संसारको जुनसुकै कुनामा रहे पनि आफ्ना संस्कृति र पर्वहरुलाई बिर्सिन नसक्ने भन्दै समाजका सबै सदस्यहरु भेला भएर दशैंतिहार मनाउन पाउनु गौरवको अवसर रहेको बताए । उनले कार्यक्रम सफल र भव्य बनाउन सम्पूर्ण कार्यसमिति सक्रिय तयारीमा जुटिसकेको जनाए ।

त्यस्तै, समाजका महासचिव डा. सुबोध नेपालले यसपटकको शुभकामना साँझमा स्थानीय कलाकारहरूको प्रस्तुति र पारिवारिक जमघटलाई अझ आकर्षक बनाउन विशेष तयारी भइरहेको उल्लेख गरे ।

आइतवार आयोजना हुने भएकाले चार्ल्टनवासी मात्र नभई वरपर क्षेत्रका सबै नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू