म्यानचेस्टर घटना आतंकवादी आक्रमण- बेलायती प्रधानमन्त्री



लण्डन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन्।
बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार गरेर दुई जनाको हत्या गरिएको घटनालाई उनले घृणित काम पनि भनेका छन् ।
उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै छाडेर बेलायत फर्किएका छन्। स्टार्मरले बिहीबार साँझ भने, ‘यहूदीहरूलाई लक्षित गरी गरिएको यो एक घृणित आतङ्कवादी आक्रमण हो। उनीहरूलाई केवल यहूदी भएको कारणले निशाना बनाइयो।’
उनले यहूदी–विरोधी भावना घृणाकै रूप भएको र पछिल्लो समय फेरि बढिरहेकोमा दुःख व्यक्त गर्दै बेलायतले फेरि एकपटक यहूदी–विरोधी भावनालाई पराजित गर्नुपर्ने समय आएको बताए।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यहूदी समुदायसँग एक बाचा पनि गरेका छन्। उनले भने, ‘म देशका सबै यहूदीहरूसँग बाचा गर्छु कि तपाईंहरूले पाउनुपर्ने सुरक्षा दिनका लागि म सम्भव सबै प्रयास गर्नेछु।’