शुक्रबार, ३ अक्टोबर, २०२५
00:58 | ०५:४३

बेलायतमा आइएलआर लिन थप कडा प्रावधान प्रस्ताव

रासस/एएफपी सेप्टेम्बर २९, २०२५

लन्डन, असोज १३ — बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ ।

नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनु पर्ने, सामाजिक सुरक्षा योगदान गर्नु पर्ने, आपराधिक अभिलेख स्वच्छ हुनु पर्ने, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नु पर्नेछ ।

हालको प्रावधानअनुसार परिवारसहित पाँच वर्षसम्म बेलायतमा बसोबास गर्ने वा कानूनीरूपमा १० वर्षसम्म बस्ने आप्रवासी ‘अनिश्चितकालीन आवासीय अधिकार’ (आइएलआर) पाउन योग्य हुनेछन् । स्थायी निवास पाउनेले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा पाउने तथा बेलायती नागरिकताका लागि आवेदन दिने अधिकार उपभोग गर्दै आएका छन् ।

तर, गृहमन्त्री शबाना महमुदले सोमबार सत्तारूढ लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्ने नयाँ योजनाले यस प्रक्रियामा ठूलो परिवर्तन ल्याउने छ । सरकारले वर्षको अन्त्यतिर यसबारे परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने तथा ‘आइएलआर’ हटाउने प्रस्ताव अघि सारेको केही समयपछि आएको हो ।

यसले पहिले नै बसोबास अनुमति पाइसकेका सयौँ हजार आप्रवासीलाई समेत प्रभावित पार्ने छ । लेबर पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘यी उपायले लेबर सरकार र रिफर्म पार्टीबीच स्पष्ट भिन्नता देखाउनेछ । रिफर्म पार्टीको प्रस्तावले दशकौँदेखि योगदान दिँदै आएका आप्रवासी कामदारलाई आफ्ना घर र परिवार छोड्न बाध्य पार्छ, तर हाम्रो योजनाले तिनीहरुलाई सुरक्षित राख्छ ।’

प्रधानमन्त्री किअर स्टार्मरले आइतबार रिफर्म पार्टीको योजनालाई ‘जातिवादी’ भन्दै यसले देशलाई विभाजित गर्ने चेतावनी दिएका थिए । गृहमन्त्री महमुदले सम्मेलनमा आफ्नो पहिलो भाषणमा भनिन्, ‘आप्रवासीले उच्च स्तरमा अङ्ग्रेजी सिक्नु पर्ने छ । म कडा र उत्तरदायी गृहमन्त्री हुने छु ।’

उनले पार्टीका सदस्यलाईसचेत गराउँदै भनिन्, ‘यदि हामीले आप्रवासन जस्तो संवेदनशील विषयलाई सही ढङ्गले सम्बोधन गर्न सकेनौँ भने श्रमजीवी वर्ग हाम्रो पक्षबाट टाढा भई रिफर्म पार्टीका नेता निगेल फराजका भ्रामक वाचा–प्रतिज्ञामा आकर्षित हुने छन् ।’

यसैबीच अर्थमन्त्री रेचल रिभ्सले पनि सोमबारको सम्मेलनलाई सम्बोधन गर्दै बेलायतको नवीकरणमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्ने र युवालाई रोजगारीमा ल्याउने नयाँ योजना सार्वजनिक गर्ने लेबर पार्टीको तयारी रहेको बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू