हार्लोमा दशैँ विशेष कार्यक्रम, आपतकालीन राहतका लागि २ हजार पाउण्ड संकलन



हार्लो– बेलायतस्थित हार्लो नेपाली समाजले एक भव्य कार्यक्रम आयोजना गरी बडादशैँ मनाएको छ । हार्लो क्रिकेट क्लबमा आयोजित कार्यक्रममा यस क्षेत्रका सांसद क्रिस भिन्स प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भिन्सले नेपाली समुदायलाई हार्लोमा स्वागत गर्दै एकता र सहभागिताको सन्देश दिए । यूकेमा पछिल्लो समय भइरहेको विभाजनकारी राजनीतिप्रति चिन्ता व्यक्त गर्दै सांसद क्रिसले यस्ता अवान्छित र समाज विभाजन गर्ने सोचाइप्रति सचेत रहन आग्रह गरे।
हार्लोमा रहेका नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गर्दै सांसद क्रिसले भने, “समाजमा विविधता र एकता आवश्यक छ, विशेष गरी अहिलेको विभाजनकारी राजनीतिक परिवेशमा ।”
उनले नेपाली समुदायप्रति समर्थन र सहकार्य निरन्तर रहने बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरूको बेलायती समाजमा समायोजन, एकता र नेपाली संस्कृतिको संरक्षण अत्यन्त महत्वपूर्ण रहेकामा जोड दिए । “समुदायबीचको एकताले विदेशमा पनि राष्ट्रप्रतिको प्रेम र भावना बलियो बनाउँछ,” उनले भने ।
नेपाली गीत संगीत, नृत्य, भजन, राफल तथा लंगुरबुर्जाको रमाइलो खेलले कार्यक्रमको रौनक बढाएको थियो ।
सो अवसरमा कलाकारहरु सोनिता केसी, रोजलिन रायमाझी, प्रिसा सिम्खडा, रुबी पुडासैनी, सीमा सिम्खडा, ग्रिसा र सलीशा सुदाकर, सदमा काफ्ले, आध्या काफ्ले लगायतले विविध रोचक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
यसैबीच, नेपालमा आपतकालीन राहत सहयोगका लागि हार्लो नेपाली समाजको विशेष पहलमा २ हजार पाउण्ड संकलन गरेको घोषणा गरिएको थियो । उक्त रकम प्रदीप सिम्खडा र राम रायमाझीको संयोजनमा नेपाल पठाइने बताइएको छ ।
कार्यक्रममा एनआरएनए यूकेको भाषा साहित्य विभाग प्रमुख गोपी सापकोटासहित हार्लोमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।
उक्त कार्यक्रम सञ्चालन सुरज पुडासैनी र सभाध्यक्षता हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५