आइतबार, १६ अगस्ट, २०२६
18:24 | २३:०९

बेलायतमा १५९ औं मोती जयन्ती तथा रचना वाचन

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सह–आयोजनामा १५९औं मोती जयन्ती तथा रचना वाचन कार्यक्रम भएको छ ।

२० सेप्टेम्बर शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको यस कार्यक्रममा नेपाल, यूके, बेल्जियम, जर्मनी, पोर्चुगल र फ्रान्सका गरी करिब दुई दर्जन साहित्यकारले सहभागिता जनाएका थिए । कार्यक्रमको सन्दर्भ थियो १५९ औं मोती जयन्ती तथा मुक्तक र गजल वाचन ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य बहादुर खड्का ‘बिखर्ची’ ले आफ्ना दुई मुक्तक वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले मोतीराम भट्टको व्यक्तित्व र कृतिहरूबारे सविस्तार चर्चा गरे । उनले मोतीराम भट्ट वहुआयामिक व्यक्तित्वका धनी भएको र छोटो उमेरमै नेपाली साहित्यका २५ वटा पुस्तक प्रकाशन गरेको बताए ।

भट्टले मुक्तक र गजललाई निकै उचार्इं दिएर भानुभक्तलाई आदिकविको रुपमा नेपाली साहित्यमा स्थापित गरेको धारणा पनि श्रेष्ठको थियो ।

अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले बिखर्चीको प्राज्ञिक यात्राबारे चर्चा गर्दै उनलाई आजीवन साहित्यमा साधनारत एउटा अब्बल साहित्यकारका रुपमा चित्रण गरे । उनले हालसम्म ६१ वटा विभिन्न विधाका कृति प्रकाशित गरिसकेका छन्।

नेपाल मुक्तक प्रतिष्ठान यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसी “प्रवासी” को स्वागत तथा 
सञ्चालनमा भएको उक्त कार्यक्रममा अनेसास पोर्चुगलका अध्यक्ष एन.बी. “अन्जान”, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारन्जित, अनेसास जर्मनीका अध्यक्ष सुजिता घिमिरे, अनेसास फ्रान्सका अध्यक्ष प्रसान्त उप्रेती “भुँइमान्छे” लगायतले आफ्ना गहन रचना वाचन गरेका थिए ।

कार्यक्रममा हालै नेपालमा भएको ‘जेन–जी’ आन्दोलनमा मृत्युवरण गर्ने सबै मृतकको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो।

सो अवसरमा मुक्तककारहरू डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, राज श्रेष्ठ, माया गुरुङ, बिनोद अधिकारी, दुर्गा प्रसाद पोख्रेल, सारा गुरुङ, नानु राना थापा, अहिल्या कुँवर, प्रतिमा केसी, विषन थापा मगर, निलम कुमार पौडेल र मोहन आचार्य ‘जलद’ ले अत्यन्तै खारिएका, चोटिला तथा समसामयिक मुक्तक प्रस्तुत गरे ।

प्रमुख अतिथि सूर्य बहादुर खड्का ‘बिखर्ची’ ले आफ्नो मन्तव्यमा मोतीराम भट्ट जून र घाम रहेसम्म नेपाली साहित्यले सम्झिरहने महान व्यक्तित्व रहेको बताए । उनले आफ्ना गहकिला मुक्तक वाचन गर्दै आयोजकलाई धन्यवाद समेत दिए ।

अन्त्यमा कार्यक्रमका सभापति तथा नेपाल मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सबै सहभागीलाई धन्यवाद दिएर कार्यक्रम समापन गरे।

उनले कार्यक्रममा वाचित सबै रचनाहरूको संक्षिप्त समीक्षा पनि प्रस्तुत गरेका थिए । कार्यक्रमले नेपाली साहित्यको समृद्ध परम्परा र अन्तर्राष्ट्रिय स्तरमा यसको प्रसारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीको बुझाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू