बिहीबार, १८ सेप्टेम्बर, २०२५
21:53 | ०२:३८

बेलायतमा बैंकको ब्याजदर यथावत

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२५

लन्डन । बेलायतको केन्द्रीय बैंक (बैंक अफ इङ्ग्ल्याण्ड) ले ब्याजदर परिवर्तन नगरि ४ प्रतिशतमै स्थिर राख्ने निर्णय गरेको छ।

यसपटक ब्याजदरमा परिवर्तन नभएपनि मौद्रिक नीति समिति (एमपीसी) का नौ सदस्यमध्ये दुई जनाले भने ब्याजदर घटाएर ३.७५% पुर्‍याउनुपर्ने पक्षमा मतदान गरेका थिए।

गत अगस्टमा बैंकको मौद्रिक नीतिगत समिति (एमपीसी) ले ब्याजदर ४.२५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको थियो, जसले करिब दुई वर्षयता सबैभन्दा न्यून दर कायम गरेको हो। धेरै विश्लेषकहरुले यस वर्षभित्र थप कटौती नहुने अनुमान गरेका थिए।

बिहीबार दिउँसो १२:०० बजे सार्वजनिक नयाँ निर्णय  अनुसार ब्याजदर ४ प्रतिशत नै कायम रहने बताइएको हो । यसअघि सार्वजनिक भएका तथ्याङ्कअनुसार खाद्य मूल्यवृद्धिका कारण महँगी दर अझै पनि उच्च स्तरमै कायम रहेको देखिएको छ।

अगस्टमा वार्षिक महँगी दर ३.८ प्रतिशत रहेको थियो, जुन लक्ष्य २ प्रतिशतभन्दा झन्डै दोब्बर हो।

बैंक अफ इङ्ग्ल्याण्डले महँगी नियन्त्रण गर्न ब्याजदरलाई प्रमुख नीतिगत उपकरणको रूपमा प्रयोग गर्दै आएको छ। सिद्धान्ततः ब्याजदर बढाउँदा ऋण लिने लागत महँगो हुने र खर्च घट्दा मूल्यवृद्धि नियन्त्रण हुने मानिन्छ। तर, यसले अर्थतन्त्रलाई समेत नकारात्मक असर पुर्‍याउने सम्भावना रहन्छ।

यस वर्ष अझै दुई पटक मौद्रिक नीति समितिको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू