शनिबार, १३ सेप्टेम्बर, २०२५
18:56 | २३:४१

हरिचन्द्रले लन्डनमा बनाए अर्को गिनिज रेकर्ड

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२५

लन्डन । नेपाल आर्मीमा कार्यरत लान्स कर्पोरल हरिचन्द्र गिरीले गिनिज वर्ल्ड रेकर्डसमा अर्को कीर्तिमान थपेका छन् ।

द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसन दिन यहां आएका बेला गिरीले हातले टेकेर उल्टोबाट आधा लिटर (५०० एमएल) कागती २४ सेकेन्डमा पिइ गिनिज वर्ल्ड रेकर्डस राखेका हुन् ।

लन्डनस्थित गिनिज हेड अफिसमा १० सेप्टेम्बरमा यो कीर्तिमान राखेको गिरीले बताए ।

‘उल्टोबाट पिउन झन् गार्‍हो हुने रहेछ । कागती पिइसकेपछि तीनदिनसम्म त दांत कुंडिएर चपाउन पनि नमिल्ने भएको थियो’, गिरीले सुनाए, ‘तर केही दिनको रिहर्सलपछि सफल भएं, खुशी छु ।’

नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल गिरीको यो छैठौं गिनिज वर्ल्ड रेकर्डस हो । यसअघि उनले उनले गुड्ने अवस्थामा रहेको टायरमाथि १ मिनेटमा १२० पटक स्किपिङ गरी ‘मोष्ट स्किप्स अन यान अपराइट टायर’ विद्याको गिनिज वर्ल्ड रेकर्ड राखेका छन् ।

उनले रेकर्ड राखेको उक्त विद्या गिनिज बुक अफ रेकर्डमै पहिलो विश्व विद्याका रुपमा समावेश भएको थियो ।

यसबाहेक उनले ४ वटा फरक–फरक विद्यामा पनि वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । उनले सन् २०२१ मा हातले टेकेर भर्‍याङको ५० खुड्किला १२.६५ सेकेन्डमा पूरा गर्दै पहिलो विश्व रेकर्डको सुरुवात गरेका थिए ।

त्यस्तै २०२२ मा उनले २ वटा रेकर्ड बनाए । खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो २५.५८ सेकेन्डमा ५० मिटर हिंड्ने कीर्तिमान समेत उनकै नाममा छ ।

गिरीले आफ्नो खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो १० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाएका थिए जुन उनले ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।

त्यसैगरी गिरीले सन् २०२३ मा २५.०३ सेकेन्डमा हातले टेकेर ७५ वटा खुड्किलाहरु झरेर चौंथो विश्व रेकर्ड कायम गरेका थिए ।

हातले टेकेर ५० खुड्किला १२.६५ सेकेन्डमा झरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर २५.५८ सेकेन्डमा ५० मिटर पार गरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर ४.४९ सेकेन्डमा १० मिटर पार गरेको अनि हातले टेकेर ७५ वटा खुड्किला २५.०३ सेकेन्डमा झरेको रेकर्ड पनि उनका छन् ।

उता, गिरीले गत साता द ब्रिटेन्स् गट ट्यालेन्टमा पनि अडिसन दिएका छन् । हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आंखा नहेरि उल्टोबाट भर्‍याङको सिडी ओर्लने, चढ्ने कला देखाएका छन् । त्यसमा खुकुरी ‘प्याट्रन’ पनि समावेश थियो । यसको परिणाम अक्टोबर १७ मा आउनेछ ।

दाङका स्थायी बासिन्दा ३१ वर्षीय गिरी १२ वर्षअघि नेपाली सैनिकमा प्रवेश गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू