बुधबार, १० सेप्टेम्बर, २०२५
09:11 | १३:५६

स्कटिश पार्लियामेन्टअगाडि नेपालका जेन जी सहिदहरुको सम्झना

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२५

लन्डन- नेपालमा जेन जी आन्दोलनका क्रममा सहिद बनेका युवाहरूको स्मृति तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै स्कटल्यान्डमा बस्ने नेपालीहरुले दीप प्रज्वलन गरेका छन् ।

नेपाली कम्युनिटी स्कटल्यान्डको आयोजनामा मंगलबार साँझ एडिनबरास्थित स्कटिश पार्लियामेन्टअगाडि दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको हो ।

कार्यक्रममा ठूलो संख्यामा स्थानीय नेपाली समुदाय, विद्यार्थी, युवा वर्ग तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। सो अवसरमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारहरुप्रति समवेदना प्रकट गरिएको थियो ।

कार्यक्रममा स्कटिश सांसदहरु फोइजल चौधरी र बेन म्याकफरसनसमेत सहभागी भएर स्थानीय नेपाली समुदायसंग ऐक्यबद्धता जनाएका थिए । सांसदद्वयले नेपाल घटनाप्रति दुख व्यक्त गर्दै आफूहरु लोकतन्त्र र न्यायको पक्षमा सधैं नेपाली सुमदायको साथ रहने प्रतिवद्धता जनाए ।

सोही अवसरमा एनआरएनए स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष शेर केसीले उपस्थित सांसदहरुमार्फत् स्कटिश सरकारलाई एक ज्ञापनपत्र बुझाए । जसमा नेपालमा भइरहेको मानवअधिकार हनन र जेन जी सहिदहरुको न्यायको लागि अन्तर्राष्ट्रिय समुदायलाई आवाज उठाउन अपील गरिएको छ । पत्रको अंग्रेजी अनुवाद मनिष कार्कीले प्रस्तुत गरेका थिए।

कार्यक्रममा युवा व्यवसायी खिमा गौतम र विद्यार्थी प्रेनिजा ढकालले जेनजी आन्दोलनमा भएको युवाहरुको शहादतप्रति दुख व्यक्त गर्दै उनीहरुको अभियानमा साथ दिने प्रतिबद्धता जनाए । सुरज लामा, पासाङ तमाङ र ज्ञानदीप भट्टराईले मृतक युवाहरूको स्मृतिमा राष्ट्रप्रेम भाव झल्काउने गीतहरु प्रस्तुत गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू