नेपालको घट्नाप्रति दूतावास दुःखी, सर्वोपरी हितका लागि सबैपक्षसंग सहकार्यको प्रतिवद्धता



लन्डन– लन्डनस्थित नेपाली राजदूतावासले नेपालमा प्रदर्शनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
राजदूत चन्द्रकुमार घिमिरेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनका क्रममा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरिएको छ।
विज्ञप्तिमा यस घडीमा शोकमा रहेका सम्बन्धित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै घाइतेजनहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
‘यसबीच, संयुक्त अधिराज्य तथा आयरल्याण्डमा रहने समस्त नेपाली समुदायहरुले पछिल्लो घट्नाक्रमप्रति देखाएको चासो, चिन्ता र संयमताप्रति हामी उच्च कदरसहित आभार प्रकट गर्न चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल र नेपालीहरुको सर्वोपरी हितका लागि यस राजदूतावास सदाझैं सबै पक्षसंगको निरन्तर समन्वय र सहकार्यमा रहनेछ भन्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’