नेपालमा हिंसात्मक दमनप्रति कडा आपत्ति जनाउंदै एनआरएनए यूकेले दूतावासमा बुझायो ज्ञापन



लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपालमा शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि सरकारले गरेको हिंसात्मक दमनप्रति गहिरो आक्रोश प्रकट गर्दै दूतावासमा एक ज्ञापन बुझाएको छ ।
संघले मंगलबार लन्डनस्थित दूतावास पुगेर राजदूत चन्द्र कुमार घिमिरेलाई ज्ञापन बुझाएको हो ।
सोमबार जेन जी आन्दोलनका क्रममा भएको गोली प्रहार र बल प्रयोगका कारण सर्वसाधारणले ज्यान गुमाउनु र घाइते हुनु अस्वीकार्य भएको संघले ज्ञापनमा उल्लेख गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र पुडासैनीले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र पीडित परिवारको साथमा संघको पूर्ण साथ रहने उल्लेख गरिएको छ । “शान्तिपूर्ण रूपमा न्याय, सुधार र लोकतान्त्रिक अधिकारका लागि उभिएका युवामाथि दमन गर्नु लोकतन्त्रको मूल्यविपरीत हो,” विज्ञप्तिमा भनिएको छ ।
एनआरएनए यूकेले सरकारलाई आन्दोलनमा घाइते भएका सबैको उपचार खर्च बेहोर्न, घटनाबारे स्वतन्त्र र पारदर्शी छानबिन आयोग गठन गर्न एवं दोषीलाई पद वा पार्टीभन्दा माथि उठेर कारबाही गर्न आग्रह गरेको छ ।
साथै युवाहरू र नागरिक समाजसँग संवाद गर्दै समस्या समाधानमा लाग्न सरकारले अग्रसर हुनुपर्ने संघको भनाइ छ ।
“लोकतन्त्र, जवाफदेही र खुला संवाद नै समावेशी समाजको आधार हुन्,” ज्ञापनमा उल्लेख छ, “हिंसा र दमनले होइन, संवाद र न्यायले मात्र नेपाललाई शान्तिपूर्ण र समावेशी लोकतन्त्रतर्फ लैजान सकिन्छ ।”
गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनए यूकेले नेपालका जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँदै सरकारलाई तुरुन्तै जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउन अध्यक्ष पुडासैनी, कोषाध्यक्ष सरोज थापा, प्रवक्ता श्याम लुईंटेल, कार्यसमिति सदस्यहरू दिनेश परियार र प्रमोद भण्डारीलगायत दूतावास पुगेका थिए ।
ज्ञापनपत्र-