मंगलबार, ९ सेप्टेम्बर, २०२५
11:06 | १५:५१

जेन जी प्रदर्शनमा भएको युवा हत्याको दोषीलाई कारबाही गर- एनआरएनए स्कटल्यान्ड

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२५

लन्डन- एनआरएनए स्कटल्यान्ड राज्य परिषदले नेपालमा जेन जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा विद्यार्थी तथा युवाहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख र संवेदना व्यक्त गरेको छ।

अध्यक्ष शेरबहादुर केसी र सचिव माधव भण्डारीले एक वक्तव्य जारी गर्दै असामयिक रूपमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै, घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

संगठनले विद्यार्थी र युवाहरू राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको आवाज सुन्नु र सम्बोधन गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी हुनेमा जोड दिएको छ। शान्तिपूर्ण आन्दोलन गर्नु प्रत्येक नागरिकको संवैधानिक अधिकार रहेको तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारशिला भएको स्पष्ट अडान पनि परिषदले प्रष्ट पारेको छ।

नेपाल सरकार र सम्बन्धित निकायलाई घटनाको तत्काल, निष्पक्ष र पारदर्शी छानबिन गर्न, प्रदर्शनका क्रममा भएको अनावश्यक बल प्रयोगबारे सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन परिषदले आग्रह गरेको छ। साथै, भविष्यमा शान्तिपूर्ण अभिव्यक्ति र आन्दोलन गर्न पाउने अधिकार सुरक्षित गर्न सरकारसँग विशेष अपिल गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू