शुक्रबार, ५ सेप्टेम्बर, २०२५
21:59 | ०२:४४

दोश्रो इन्फा अवार्ड १३ सेप्टेम्बरमा, नेपालबाट आउंदै तीन दर्जन कलाकार

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२५

लन्डन । दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।  

आयोजकले बिहीबार एक पत्रकार सम्मेलन गरि सो जानकारी दिएका हुन् । 

इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले करिब ९० प्रतिशत तयारी भइसकेको जानकारी दिए । विश्वमा नै पहिलोपटक यति धेरै कलाकार नेपालबाट ल्याएर अवार्डस गर्न लागिएको दावी मोक्तानको छ ।

इन्फा इभेन्ट्स यूके र इन्फा नेपालले गर्न लागेको दोश्रो इन्फा अवार्डका लागि तीन दर्जन बढी कलाकार लन्डन आउने पनि जनाइएको छ । 

नेपालबाट कलाकारहरु ११ तारिख लन्डन उत्रने छन् । रमेश बुढाथोकी, दिपक राज गिरी, दीपाश्री निरौला, केदार घिमिरे प्रदीप खड्का, विजय बराल, दिलिप रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, जितु नेपाल, एन्जिला सुब्बा, समर्पण लामा, डान्सर एलिसा शर्मा, दिया मास्के, मेलिना राई, मलिना जोशी लगायतको भिसा लागिसकेको छ । सौगात मल्ल र वर्षा सिवाकोटी भने आउन नसक्ने भएका छन् ।

१३ सेप्टेम्बर साँझ लन्डन ग्रीनफोर्ड टाउन हलमा कार्यक्रम हुंदैछ । 

५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने पनि मोक्तानले जनाए । 

जुरीमा रहेका गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापाले विभिन्न विद्यामा नोमिनिज छनोट गरेका छन् । 

आयोजकका तर्फबाट टंक भट्टराईले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम राखिएको बताए । यसपटक फरक ढंगमा कार्यक्रम गर्न लागिएको उनको भनाइ थियो । 

भाषण र औपचारिक भन्दा रमाइलो कार्यक्रम बढी हुने भएकाले दर्शकहरुलाई समयमै आउन र पूरा ‘प्याकेज’ हेरेर रमाइलो गर्न उनले आव्हान गरे । 

अपरान्ह ५ बजे रेड कार्पेट शोमा कलाकारहरुलाई राखेर भेटघाट, फोटो खिच्ने व्यवस्था पनि मिलाइएको छ । 


अर्का आयोजक आशिष पन्तले झण्डै १० महिनादेखि तयारीमा जुटेको बताउंदै अवार्ड गर्न धेरै मिहेनत गरिएको बताए । यहाँ परफर्म गर्न अभिनेत्री गौरी मल्लको नेतृत्वमा एउटा समूहले नेपालमा कोरियोग्राफरसहित नृत्य प्रशिक्षण गरिरहेको पन्तले जनाए । 

राज पाण्डेले जोखिम लिएरै कलाकार राख्न गत अप्रिलदेखि होटल बुकिङ गरिसकिएको र करिब ९५ प्रतिशत कलाकारको भिसा लागिसकेको बताए । सबै कलाकारलाई हिथ्रो नजिक एउटै फोर स्टार होटलमा व्यवस्थापन गरिएको पाण्डेले जनाए । नयाँपन दिन र अवार्ड्स कार्यक्रम थप उचाइँमा लैजान आफूहरु लागिरहेको उनको भनाइ छ । 

इभेन्टमा प्रवेश शुल्क २५, ३० र ५० पाउण्ड एवं भिआइपीका लागि १०० पाउण्ड राखिएको छ । भिआइपी टिकेट लिए कलाकारहरुसँग ‘मिट एण्ड ग्रीट’ मा समेत सहभागी हुन पाइने पाण्डेले बताए ।   

१२ हजार पाउण्डको टाइटल स्पोन्सर गरेका निर्माता एवं कलाकार विक्रम जोशीले पहिलो संस्करणमा आयोजकले धेरै मेहनत गरेपनि केही अभाव खट्किएको महशुस गर्दै त्यसलाई सुधार्न आफू यसपटक संलग्न भएको बताए । 

जोशीले आफ्नो ब्यानरले सेप्टेम्बर १३ कै इभेन्टमा प्रतिभा उजागर गर्ने एउटा शो ‘इट इज माइ ट्यालेन्ट शो डट कम’ घोषणा गर्न लागेको जनाए ।

यसमा सबै सहभागी हुन सक्ने र महिनै पिच्छे विजेता छनोट गरिने जोशीले बताए । अर्को वर्ष फिनाले गरिने उनको भनाइ थियो ।

दोश्रो इन्फा अवार्ड गर्न बेलायतबाट राज पाण्डे, उमेशराज मोक्तान, टंक पन्त र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् । टाइटल स्पोन्सर कलाकार, निर्माता विक्रम जोशीले गरेका छन् ।

कार्यक्रम एपी वानबाट प्रसारण गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू