बुधबार, ३ सेप्टेम्बर, २०२५
13:57 | १८:४२

श्रृजनशील लेष्टर नेपाल यूकेमा नयाँ कमिटी, नेतृत्वमा आए युवा अभियन्ता पराजुली

नेपाली लिङ्क सेप्टेम्बर २, २०२५

नवनिर्वाचित कार्यसमिति

लन्डन-श्रृजनशील लेष्टर नेपाल यूकेमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ । लेष्टरस्थित एभरेष्ट परिकार रेष्टुरेन्टमा सोमबार सम्पन्न संस्थाको नवौं अधिवेशनले शिव पराजुलीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टिकाराम गौतम, महासचिवमा वरुण भण्डारी, कोषाध्यक्षमा हरि महर्जन, सचिवमा कृष्ण कंडेल र माया खरेल तथा सहकोषध्यक्षमा रिता डोटेल चुनिएका छन् । कार्यसमिति सदस्यमा अनिलकुमार गैरे, जीवन पौडेल, सुरेन्द्र रुपाखेती, कुमारप्रसाद तिमिल्सिना, श्याम खत्री, गोमा घिमिरे, भोजराज भट्टराई, विमल सापकोटा, विष्णु निउरे र जीवन पुडासैनी छन् ।

१७ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समिति संयोजक नारायण फुयांलले शपथग्रहण गराएका थिए । पूर्व अध्यक्ष फुयांल संयोजक रहेको समितिमा पूर्व अध्यक्ष बलराम चापागाईं र सल्लाहकार डा मिलन ज्ञवाली सदस्य थिए ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्षहरुसंगै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, साझा नेपाली समाज यूकेका पूर्व अध्यक्षहरु रणबहादुर केसी र महेश अधिकारी, शान्ति नेपाली समाजका पूर्व अध्यक्ष कोशलेश्वर ढकाल, कोभेन्ट्री लायन्स क्लब अध्यक्ष गोविन्द सापकोटा, एनआरएनए यूके सचिव कला पोखरेललगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यसअघि संस्थाका निवर्तमान समितिका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि एवम् संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्षहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, बलराम चापागाईं, नारायण फुयांललगायतले शुभकामना मन्तव्य दिए । महासचिव शिव पराजुलीले सञ्चालन गरेको सत्रमा उपाध्यक्ष टिकाराम गौतमले स्वागत मन्तव्य दिएका थिए।

उक्त सत्रमा कोषाध्यक्ष मधु पौडेलको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्यालले पेश गरेको सामाजिक प्रतिवेदन छलफिलपछि पारित गरिएको थियो ।

त्यसैगरी विधान संशोधन समितिका संयोजक दयानिधि सापकोटाले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पनि छलफलपछि पारित गरिएको थियो । विधान समितिमा सापकोटाको संयोजकत्वमा राजु कंडेल, पशुपति पोखरेल, प्रेम आले र शिव पराजुलीले सदस्यको भूमिका निर्वाह गरेका थिए ।

युवाको काँधमा आयो नेतृत्व

नवनिर्वाचित अध्यक्ष शिव पराजुली

नयाँ कार्यसमितिको निर्वाचनसंगै सिर्जनशिल लेष्टर नेपाल यूकेको नेतृत्व युवा सामाजिक अभियन्ता शिव पराजुलीको काँधमा आएको छ । उनी यसअघि संस्थामा महासचिवको जिम्मेवारीमा थिए भने त्यसअघि उनले सचिवको भूमिका सम्हालेका थिए ।

विभिन्न संस्थामा आबद्ध रहेर सामाजिक रुपमा सक्रिय रहंदै आएका उनी एनआरएनए यूके, साझा नेपाली समाज यूकेलगायतका संस्थामा सल्लाहकार छन् ।

नेपालमा बुटवल मणिग्रामका पराजुली १६ वर्षअघि अध्ययनका लागि बेलायत आएका थिए । पेशाले आइटी इञ्जिनयर उनी अनलाइन बिजनेसमा संलग्न इन्टरप्रेनर पनि हुन् ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले संस्थामा युवा सहभागिता बढाउने, कमीकमजोरी सच्याउँदै संस्थागत प्रणाली विकास गर्ने, संस्थालाई डिजिटलाइज गर्ने, नयाँ सोचका साथ अघि बढाउने तथा समग्रमा चुस्त र स्फूर्त रुपमा संस्था सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

संस्थाको आफ्नै घर र लेष्टरमा नेपाली मन्दिर स्थापना प्रोजेक्टलाई पनि प्राथमिकताका साथ अघि बढाउने अठोट उनले व्यक्त गरेका छन् ।

आफूलाई सर्वसम्मत रुपमा संस्थाको नेतृत्व प्रदान गरेकोमा समाजका अग्रज तथा सबै सदस्यलाई धन्यवाद दिंदै पराजुलीले सबैको भावना समेटेर संस्थाको हितमा सक्दो राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सन् २००९ मा मा स्थापित श्रृजनशील लेष्टर नेपाल यूके बेलायतको लेष्टर क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्था हो । संस्थाले विभिन्न पर्व तथा अवसरमा सांस्कृतिक कार्यक्रम साथै परोपकारी कार्य पनि गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू