१७ वर्ष अमेरिका बसेर नेपाल फर्किएका डा. मल्लले लन्डन दूतावासमा सुनाए आफ्नो मिसन



लन्डन । नेपालले यतिखेर कमजोर आर्थिक शासन र ग्रामीण समुदायमा सीमित अवसरका कारण युवा पलायन र बेरोजगारीको गम्भीर चुनौती सामना गरिरहेको छ । दैनिकजसो तीन देखि चार हजार युवा अहिले विदेशीइरहेका छन् । एक तथ्यांक अनुसार गत वर्ष १० लाख युवा विदेश पलायन भए ।
यही कहालीलाग्दो परिप्रेक्ष्यमा नेपालको एक गैरसरकारी संस्था ‘दायित्व’ ले महिला र युवा नेतृत्वको उद्यमहरुमा समर्थन गर्दै आर्थिक सुशासन सुदृढीकरण एवं स्थानीय तहको नवप्रवर्तनमा जोड दिइरहेको छ ।
सोमबार ‘दायित्व’ नामक संस्थाका अध्यक्ष डा. पुकार मल्ल लन्डनस्थित नेपाली दूतावासमा आफ्नो मिसन सुनाउंदै थिए ।
दूतावासले आयोजना गरेको कार्यक्रममा डा. मल्लले नेपालमा आर्थिक सुशासनको सुदृढीकरण तथा स्थानीय तहको नवप्रवर्तनमा आफूले गरिरहेको प्रयासबारे बेलिविस्तार लगाए ।
अध्ययन, काम गरि १७ वर्ष अमेरिकामा बसेर नेपाल फर्किएका मल्ल ‘मिसन आशा’ लिएर बेलायत आएका हुन् । उद्यमशीलता र रोजगार प्रवर्धन ‘मिसन आशा’ को मिसन हो । अमेरिका, क्यानडापछि यूकेको लन्डन १६ औं शहर हो उनी सहभागी भएको ।
कार्यक्रममा मल्लले नेपाललाई आर्थिक सम्वृद्धिको बाटो चाहिएको जनाउंदै यसका लागि शासकीय सुधार आवश्यक रहेको औंल्याए ।
संघीयताले विविधता, विकेन्द्रीकरण र भेदभाव अन्त्यमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मल्लले ‘दायित्व’ ले ग्रासरुटमा गएर ११५ वटा इन्टरप्राइजेजमा सहयोग गरेको र यसबाट दुई लाख जना लाभान्वित भएको तथ्यांक प्रस्तुत गरे ।
डा. मल्लले आफ्नो संस्थाले कसरी ग्रामीण रोजगारी सिर्जना गरि आर्थिक शासनलाई सुदृढ बनाएर नेपालका युवाहरूमा आशा पुनस्र्थापित गरिरहेको छ भन्ने कुरा पनि बताए ।
केही कामै भएन भनेर सरकारलाई मात्र दोष दिनुभन्दा व्यक्ति आफैं अग्रसर भएर देशको समृद्धिमा लाग्न उनको सुझाव थियो । युवालाई अवसर दिए इमान्दार भएर काम गर्ने उल्लेख गर्दै डा. मल्लले विदेशमा रहेको युवा जनशक्ति नेपाललाई खांचो रहेको बताए ।
सहभागीहरुका विभिन्न जिज्ञासा मेटाउंदै उनले स्वदेशमै केही गर्न सकिने दृढताका साथ आफू नेपाल फर्किएको सुनाए ।
डा. मल्लले विगतमा विश्व बैंक, हार्वर्ड, इन्टेल र सिलिकन भ्याली स्टार्टअपमा काम गरिसकेका छन्। उनले स्वार्थमोर कलेज, कर्नेल विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयबाट क्रमशः बीएससी, विद्यावारिधि र एमपीए उत्तिर्ण गरेका छन्।
कार्यक्रम समापनका क्रममा राजदूत चन्द्र कुमार घिमिरेले देशमा राम्रो काम समेत भइरहेको जनाउंदै पुकार मल्लजस्ता युवाबाट अझ बढी आशा गरिएको बताए । राजदूतले मल्लको ‘दायित्व’ ले स्थानीय तहमा रोजगारी सृजना र उद्यमशीलतामा गरेको काम ज्यादै प्रशंसनीय भएको पनि बताए ।
कार्यक्रमको शुरुमा दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले स्वागत मन्तव्य दिएका थिए । झण्डै एकसय जना सहभागी उक्त कार्यक्रममा युवा व्यवसायी विकास नेपालले लाइट रिफ्रेसमेन्ट र पेयपदार्थ प्रायोजन गरेका थिए ।

डा. पुकार मल्ल

राजदूत चन्द्र कुमार घिमिरे