सोमबार, १ सेप्टेम्बर, २०२५
15:54 | २०:३९

एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सले लियो शपथ

नेपाली लिङ्क सेप्टेम्बर १, २०२५

कार्डिफ, वेल्स – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो ।  

औपचारिक उद्घाटन कार्यक्रम दिउँसो १ बजे सदस्यहरुको प्रवेशसँगै सुरु भएको थियो। शुरुमा केन्द्रिय सचिव कृष्ण प्रसाद खतिवडाले सुरक्षासम्बन्धी जानकारी दिए। 

एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला र एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे। त्यसपछि नेपाल र वेल्स दुवैको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो, जसको संयोजन श्रीराम थापा मगरले गरेका थिए।

एनआरएनए यूकेका उपाध्यक्ष झलक पुनले स्वागत मन्तव्य दिँदै वेल्समा नयाँ कार्यसमिति गठन हुनु समुदायलाई सबल बनाउन ठूलो कदम भएको बताए। उनले समितिले प्रवासी नेपालीहरुको हकहितमा ठोस काम गर्ने विश्वास व्यक्त गरे।

आइसीसी सदस्यहरु ओमप्रसाद थापा काउचा, शारदा गुरुङ र अमृत घले लगायतले संघलाई अझ प्रभावकारी बनाउन सुझाव दिए । एनआरएनए यूके प्रमुख सल्लाहकार डा. भीम पुनले राज्य समन्वय परिषद्हरुलाई स्वतन्त्र र बलियो बनाउन हामी सबैले सहकार्य गर्नुपर्छ भन्ने विचार राखे। 


नेपाली समाज कार्डिफका पूर्व अध्यक्ष निरलाल मोक्तानले  समुदायलाई अझ एकजुट बनाउन नयाँ समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले दोहोरो नागरिकता, वंशजको नेपाली नागरिकता निरन्तरता र गोर्खाहरु एनआरएनए सदस्य हुने-नहुनेबारे अद्यावधिक जानकारी दिए। आइसीसी उपाध्यक्ष विश्वासदिप तिगेलाले अन्तर्राष्ट्रिय परिस्थिति र संघको हालको गतिविधिबारे जानकारी दिए।

वेल्स राज्य समन्वय परिषद् अध्यक्ष दिपक सुब्बा इङ्देनले मन्तब्यसहित समापन गरेका थिए ।

औपचारिक कार्यक्रमपछि सांगीतिक सत्रमा लोकप्रिय लोकगायिका सृष्टि पुन, कलिका रोका मगरले धमाकेदार प्रस्तुति दिए। उनीहरुको गीतमा उपस्थित अतिथिहरु नाचगानमा सहभागी भएर रमाइलो गरे ।

कार्यक्रमले नयाँ कार्यसमितिलाई औपचारिक रुपमा जिम्मेवारी ग्रहण गराएको मात्र होइन, वेल्सस्थित नेपाली समुदायलाई उत्सवमय वातावरणमा एकताबद्ध पनि बनाएको छ।

सो अवसरमा राज्य समन्वय परिषद् वेल्सका मूख्य संरक्षक दिप प्रसाद पुन र बद्री योङया लिम्बु तथा सल्लाहकार नेपाली समाज कार्डिफका पूर्व अध्यक्ष निरलाल मोक्तानलाई सम्मान गरिएको थियो।


यस्तो छ वेल्स नयाँ कार्यसमिति: 

अध्यक्ष – दिपक सुब्बा इङ्देन

उपाध्यक्ष – सीता गुरुङ राई

सचिव – पवन राना मगर

सह-सचिव – श्रीराम थापा मगर

कोषाध्यक्ष – रत्ना राई

सह-कोषाध्यक्ष – प्रदीप गुरुङ

सदस्यहरु: प्रकाश गुरुङ, खगेन्द्र लिम्बु इङ्देन, सुवास राई, उवराज पुन र प्रशान्त गौतम

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू