बिहीबार, २८ अगस्ट, २०२५
15:06 | १९:५१

एनआरएनए यूके वेल्स राज्य परिषद्ले शपथ संगै गर्‍यो सल्लाहकार चयन

नेपाली लिङ्क अगस्ट २८, २०२५


कार्डिफ (वेल्स)- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद्, वेल्सले २०२५–२०२७ कार्यकालको औपचारिक शपथ ग्रहण समारोह तथा पहिलो कार्यकारिणी बैठक सम्पन्न गरेको छ। 

एनआरएनए यूके निर्वाचन समितिका प्रतिनिधि तथा राज्य समन्वय परिषद्, वेल्सका पूर्व प्रमुख संरक्षक रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा अगस्ट २६ मा आयोजित समारोहमा पोखरेलले नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा शपथ गराए। 

शपथ ग्रहणपछि सम्बोधन गर्दै पोखरेलले भने “शपथ ग्रहण केवल औपचारिक प्रक्रिया होइन, यो समुदायप्रति समर्पण, उत्तरदायित्व र पारदर्शिताको गहिरो प्रतिबद्धता हो।” 

शपथपछि सम्पन्न पहिलो कार्यकारिणी बैठकमा अध्यक्ष डा. विकास रानाभाटले आगामी कार्यकालका प्राथमिकता र कार्ययोजना प्रस्तुत गर्दै ती योजनाहरू सर्वसम्मत पारित गरिएको जानकारी दिए । 

बैठकले एनआरएनए यूके राज्य समन्वय परिषद्, वेल्सका संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेललाई प्रमुख संरक्षकको रूपमा नियुक्त गरेको छ। 

साथै, बैठकले एनआरएनए अभियान तथा वेल्सको नेपाली समाजमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरू, एनआरएनए यूके राज्य समन्वय परिषद्, वेल्सका निवर्तमान अध्यक्ष विभूषण मान श्रेष्ठ, नेपाली समाज वेल्सका अध्यक्ष पदम पुन, एनआरएनए अभियन्ता तथा नेपाली समाज वेल्सका पूर्व अध्यक्षहरु श्रीमती लक्ष्मी केसी र निर लाल मोक्तान तथा धर्म–सांस्कृतिक अभियान यूकेका अध्यक्ष ज्योतिष पण्डित डा. थानेश्वर पाण्डेलाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ।

महासचिव डा. अमरध्वज मल्लले सञ्चालन गरेको उक्त कार्यक्रम समापन गर्दै अध्यक्ष डा. रानाभाटले सम्पूर्ण कार्यसमितिका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिए । 

उनले आगामी भावी कार्ययोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सबै सदस्यहरूलाई संस्थागत एकता, पारदर्शिता, र सेवा–केन्द्रित हुँदै राज्य समन्वय परिषद्, वेल्सलाई अझ प्रभावशाली बनाउने कार्यमा योगदान पुर्‍याउन आह्वान पनि गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू