बेलायत र अमेरिकाका नेपालीको ‘एनिमेटेड’ चलचित्र ‘जय लाखय्’ काठमाडौंमा प्रिमियर हुंदै



लन्डन । यन्त्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र जय लाखय् काठमाडौंमा प्रिमियर हुने भएको छ ।
यही भाद्र १४ गते शनिबार एफक्यूब सिनेमा, केएल टावर, चावहिलमा प्रिमियर हुने तयारी भएको चलचित्र निर्देशक संयुक्त श्रेष्ठले जनाए ।
प्रिमियर शो बिहान ९ बजे नेपालभाषा र ९.१५ बजे नेपालीमा प्रदर्शन हुनेछ । फिल्म एक घण्टा १५ मिनेट अवधिको छ ।
निर्देशक श्रेष्ठ लामो समयदेखि लन्डनमा रहेर नेवाः कला संस्कृतिको जगेर्ना तथा प्रचार प्रसारमा लागेका अभियन्ता हुन् ।
करिब ८ वर्ष लगाएर निर्माण गरिएको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्व दर्शाउन खोजिएको छ ।
नेपालका संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन भने लन्डनका संयुक्त श्रेष्ठले गरेका छन् । संयुक्त र नियुक्त श्रेष्ठद्धारा एनिमेटेड यस चलचित्रका निर्माताहरु बेलायतका अन्जना श्रेष्ठ र लोचन मानन्धर एवं अमेरिकाका शैलेन्द्र मानन्धर र समीर महर्जन हुन् ।
नेपाल भाषा र नेपाली भाषामा उपलब्ध यस चलचित्रमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको ऐतिहासिक सन्दर्भ पनि हेर्न सकिनेछ ।
गुठी अष्ट्रेलियाद्धारा प्रस्तुत यस चलचित्रलाई नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स, विश्व नेवाः संगठन र ज्यासः फिल्मस् लगायतले सहकार्य गरेका छन् ।
निर्देशक श्रेष्ठले नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बनाइएको आफ्नो चलचित्र हेरिदिन सबैमा अपिल गरेका छन् । ‘हाल काठमाडौंमा रहनुभएका बेलायत र अमेरिकावासी नेपाली तथा स्थानीय दर्शकहरुले हलसम्म आएर हेरिदिनु भयो भने हामीलाई हौसला मिल्नेछ । कृपया प्रिमियरमा भेटौं है’, श्रेष्ठले भने ।
चलचित्र हेर्न इच्छुक दर्शकले अनलाइनमार्फत टिकेट खरिद गर्न सक्नेछन् । टिकेट किन्न यहां क्लिक गर्नुहोस्ः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५