शुक्रबार, २२ अगस्ट, २०२५
01:28 | ०६:१३

अल्डरसट पशुपति मन्दिरमा तीज महिमाबारे पण्डित सुवेदीको कथा वाचन

नेपाली लिङ्क अगस्ट २१, २०२५

लण्डन । नेपालका प्रख्यात धर्मगुरु पण्डित कुवेर सुवेदीले बेलायतमा आयोजित विशेष धार्मिक कार्यक्रममा हरितालिका तीजको महत्वबारे कथा वाचन गरेका छन्।

बिहिबार अल्डरसटस्थित पशुपति मन्दिरमा शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा भएको कार्यक्रममा सुवेदीले महिलाहरूले भगवान शिव–पार्वतीको दाम्पत्य सम्झेर उपवास गर्दै ‘तीज कथा’ सुन्ने परम्परा रहेको उल्लेख गरे।

उनले कथावाचनमार्फत धार्मिक प्रसङ्ग प्रस्तुत गर्दै भने, “हिमालय राजाकी छोरी पार्वतीले भगवान शिवलाई वर पाउने दृढ निश्चय गरेकी थिइन्। तर उनका पिता हिमालयले विष्णुसँग विवाह गराउन चाहेकाले पार्वतीका सखीहरूले उनलाई वनतर्फ लगेर कठोर तपस्यामा प्रेरित गरे।”

सुवेदीका अनुसार पार्वतीको कठोर ब्रत र ध्यानबाट प्रसन्न भएका भगवान शिवले उनलाई वरण गरेपछि यही प्रसङ्गलाई स्मरण गर्न ‘हरितालिका तीज’ नामकरण गरिएको हो। संस्कृतमा हरित भन्नाले ‘हराएर लैजाने’ र आलिका भन्नाले ‘सखी’ भन्ने अर्थ हुन्छ।

कार्यक्रममा मन्दिर समितिका अध्यक्ष विक्रम भट्टराई, पूर्व अध्यक्ष वाचस्पति रेग्मी, चौतारी समूहका अध्यक्ष विष्णु श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रममा निरुशा भट्टराईको भजनकिर्तनमा भक्तजनहरू मन्त्रमुग्ध बनेका थिए।

पण्डित सुवेदीले आगामी अगस्ट २५ तारिख सोमबार स्कटल्याण्ड र २६ तारिख मंगलबार ग्लास्गोमा कथावाचन गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू