एनआरएनए यूकेको निम्तोमा बेलायत आउँदै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह



लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निमन्त्रणामा नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार लण्डन आउने भएका छन्।
उनको भ्रमणको मुख्य उद्देश्य यूकेस्थित नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्नु र गैर आवासीय नेपालीहरुको हित, सुशासन र नेपालको लोकतान्त्रिक प्रक्रियासम्बन्धी मुद्दामा छलफल गर्ने रहेको एनआरएनए यूकेले जनाएको छ।
यसै क्रममा एनआरएनए यूकेले २० सेप्टेम्बर २०२५, शनिबार दिउसो २:०० बजे साउथ ह्यारोस्थित गोल्डेनसीपमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन, वंशजको नेपाली नागरिकताको निरन्तरता र स्वदेश फर्क, स्वदेश नै स्वर्ग” विषयमा छलफल हुनेछ।
उक्त कार्यक्रम संयोजन एनआरएनए यूकेको भ्रष्टाचारविरोधी तथा सुशासन विभागका प्रमुख संयोजक एवम् सचिव कृष्ण प्रसाद खतिवडाले गर्नेछन्।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भने, “यो अवसरले यूकेमा रहेका नेपालीहरुलाई नेपालका निर्वाचित स्वतन्त्र सांसदसंग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अवसर दिनेछ। यसले सुशासन, पारदर्शिता र एनआरएनहरुको योगदान र अधिकारबारे थप संवादलाई सुदृढ पार्नेछ।”
एनआरएनए यूकेले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी, सरोकारवाला संस्था, पत्रकार र शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।