बुधबार, १२ नोभेम्बर, २०२५
03:41 | ०९:२६

हेजमा गायिका कोमल ओलीको साथमा यतीले गर्दैछ तीज विशेष कार्यक्रम

नेपाली लिङ्क अगस्ट २०, २०२५


हेज (लन्डन)— सन् १९६० मा बेलायत बस्ने नेपाली समुदायद्वारा स्थापना गरिएको युरोपकै पहिलो संस्था यती नेपाली एसोसिएसन यूकेले आगामी २४ अगष्ट आइतबार तीज कार्यक्रम गर्ने भएको छ। 

कार्यक्रम हेजस्थित The Claretian Oasis (UB3 2AB) मा साँझ ५ देखि राति १०:३० बजेसम्म हुने भएको हो ।

कार्यक्रममा नेपाली लोकगायनकी चर्चित कलाकार कोमल ओलीले प्रमुख प्रस्तुति दिनेछिन्। तीज र लोकगीतका माध्यमबाट लामो समयदेखि लोकप्रिय ओलीका “पोइला जान पाम”, “बोल्नेलाई बोल्न देऊ”, “तीजमा रमाइलो” जस्ता गीतहरू नेपाली समाजमा चर्चित छन्। हालै सार्वजनिक भएको उनको नयाँ तीज गीत “सुनीदेउ शिव” ले थप चर्चा कमाएको छ।

ओलीसँगै गायिका साहिमा श्रेष्ठ, गायक सन्दीप न्यौपाने, विभिन्न नृत्य प्रस्तुतिहरू, डिजे संगीत, साथै ‘राफल ड्र’ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहने यती अध्यक्ष टंक भट्टराईले जनाए । सहभागी सबैका लागि फुल–कोर्स नेपाली भोजन व्यवस्था गरिएको छ।

अध्यक्ष भट्टराईको नेतृत्वमा हालै यती नयाँ कार्यसमिति बनेपछि संस्थाले विभिन्न नयाँ कार्यक्रम घोषणा गर्दै आएको छ। केही हप्ता अघि मात्र यती नेपाली एसोसिएसन यूकेले २७ वर्षपछि पहिलोपटक सामूहिक समुद्र किनार भ्रमण आयोजना गरी ३०० भन्दा बढी नेपालीलाई सहभागी गराएको थियो। यो पहललाई समुदायबीच ठूलो उत्साहका साथ स्वागत गरिएको थियो।


अध्यक्ष टंक भट्टराईले भने, ‘हामीले अघिल्ला सफल कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा थप सामाजिक, सांगीतिक र सांस्कृतिक गतिविधि आयोजना गर्ने तयारी गरेका छौँ। यसपटकको तीज साँझ हाम्रो वार्षिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो ।’

एसोसिएसनले यसअघि पनि बेलायतमा विभिन्न सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रम गर्दै आएको छ। संस्थाले आगामी महिनाहरूमा धेरै नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू