अल्डरसटमा पण्डित कुवेर सुवेदीले तीजकथा वाचन गर्ने



लण्डन । हाल बेलायतमा रहेका चर्चित कथावाचक तथा धर्मदर्शन आश्रम–देवघाटका संस्थापक पण्डित कुवेर सुवेदीले आगामी अगष्ट २१ तारिख बिहीवार अल्डरसटस्थित पशुपतिनाथ मन्दिरमा तीजकथा सुनाउने भएका छन्।
मन्दिर संचालन समितिका पूर्वअध्यक्ष वाचस्पति रेग्मीका अनुसार सुवेदीले दिउँसो ४ देखि ७ बजेसम्म भक्तजनलाई तीजकथा श्रवण गराउने कार्यक्रम तय गरिएको हो।
उक्त अवसरमा स्थानीय भक्तजन, महिला समूह तथा धार्मिक संस्थाका प्रतिनिधिहरुको विशेष सहभागिता रहने अपेक्षा छ।
सुवेदीले यसअघि लण्डनको साउथलमा सम्पन्न साताव्यापी श्रीमद्भागवत कथा महायज्ञ समापन गर्दै हजारौं श्रद्धालुहरुलाई अध्यात्म, भक्ति र समाजसेवामा जोड्न प्रेरित गरेका थिए। बेलायतमा पहिलोपटक सार्वजनिक रूपमा आयोजित सो श्रीमद्भागवत कार्यक्रममा भक्तजनहरूको उत्साहपूर्ण उपस्थिति थियो।
धर्म, दर्शन र समाजसेवामा सक्रिय सुवेदीले नेपालका साथै विभिन्न मुलुकमा कथा वाचन गर्दै आएका छन्। यसै श्रृंखलामा उनले अल्डरसटमा तीज विशेष कथा प्रस्तुत गर्ने र त्यसपछि अगष्ट २५ तारिख स्कटल्याण्डमा पनि कथावाचन गर्ने कार्यक्रम तय भएको धर्मदर्शन नेपालले जनाएको छ।
तीज पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वका रूपमा चिनाउने उद्देश्यसहित सुवेदीले यसपटक बेलायतभरका नेपाली समुदायलाई आस्था, संस्कार र सेवा–भावनामा जोड्ने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५