शुक्रबार, १५ अगस्ट, २०२५
09:54 | १४:३९

शेष, बद्री कसैको झोला नबोकी एनआरएनएलाई एक ढिक्का बनाउन जुट्न दयानिधिले गरे अपिल

नेपाली लिङ्क अगस्ट १५, २०२५


लन्डन– बेलायत लेस्टर निवासी एनआरएनए अभियन्ता एवं सफल व्यवसायी दयानिधि सापकोटा केही महिना मौन रहे ।

बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य र युरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका उनी एकाएक मौन बस्नुको मुख्य कारण थियो गैर आवासीय नेपाली संघभित्रको विभाजन ।

सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा आएका सापकोटाले एक समय एनआरएनए यूकेको चुनाव आउंदा माहोल निकै तताउने गर्थे । अर्थात मिडल्याण्डका मतदाता उनकै वरिपरी घुम्थे । कसलाई जिताउने उनकै नेतृत्वले निर्णायक बनाउंथ्यो ।

जब डा. शेल घले र डा. बद्री केसी आ आफ्नै नेतृत्वलाई वैधानिकता प्रमाणित गर्न अदालत धाउन थाले, तब सापकोटा यस अभियानबाटै ‘ब्याक’ भए ।

लेष्टरमा तीन वटा रेष्टुरेन्ट चलाएर आफूलाई त्यही विजनेशमा इन्गेज गराइरहेका सापकोटा गत सोमबार मिडल्याण्ड नेपाली मेलामा भने कडा रुपमा प्रस्तुत भए । उनको भाषणमा जति आक्रोश थियो, संस्थाप्रति चिन्ता र माया पनि झल्कन्थ्यो ।

‘एनआरएनएलाई एकजुट नबनाएसम्म यो संस्थाको कुनै औचित्य छैन्’, उनले उद्घोष गरे, ‘न त मैले मेमा शेष घलेले गराएको अधिवेशनमा सदस्यता लिएं, न त अहिले बद्री केसीले गराएको अधिवेशनमा सदस्यता लिएं । मैले दुईटै समूहको सदस्यता लिएको छैन् । किनभने यो संस्थालाई एकजुट बनाउन हामीले पहल गर्नु पर्छ । विशेष गरि मिडल्याण्डका साथीहरुले पहल गर्नुपर्छ ।’

तालीको गडगडाहटबीच सापकोटाले अगाडि भने, ‘यहांका धेरै साथीहरु एक पक्षको चुनावमा जानु भएको थियो, म विस्तृतमा जान चाहन्न । तर अहिले एनआरएनए एकदम भीरमा छ, भीरमा खस्न लागेको गैर आवासीय नेपाली संघलाई हामी स्वच्छ मानिसहरुको आवाजले, हाम्रो कामले र क्षमताले यसलाई एकठाउंमा ल्याउनका लागि विश्वभर सन्देश दिंदै हामीले झकझक्याउन आवश्यक छ । हामी न त शेष घलेका झोले, न त बद्री केसीका झोले । हामी संघका इमान्दार कार्यकर्ता हौं । यो संस्थालाई हामीले एक बनाउन सक्नु पर्छ । त्यसैले सम्पूर्ण साथीहरुमा के भन्न चाहन्छु भने यो संस्था अब एक हुन्न भने आजैका दिनदेखि तपाईंहरु सबैले पदबाट राजिनामा दिनुस् । कसैको झोले नबन्नुस् । स्वच्छ एनआरएनए अभियन्ता बन्नुस् । अनि त्यसपछि हामी यसलाई ट्रयाकमा ल्याउन सक्छौं । नभए आज एउटाको झोला बोक्यो, भोलि अर्काको झोला बोक्यो । कसको कति दिन झोला बोक्ने ? संस्थालाई कहां पुर्‍याउने ? यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’

अभियन्ता सापकोटाले एनआरएनएको अस्तित्व जोगाउन, सामुदायिक सद्भाव कायम गर्न, देशको समृद्धि र दोश्रो पुस्तालाई मातृभूमिसंग जोडिराख्न पनि संस्थामा एकता जरुरी भएको बताए ।

‘अहिले हामी एउटै ठाउंका छरछिमेकी, आफन्त, साथीभाई लडिरहेका छौं । आखिर त्यो के का लागि ?’ उनले भने, ‘ छोडौं सानातिना मनमुटाव, स्वार्थ र लोभ । अब हामी सबैले त्याग गर्ने बेला आएको छ ।’

केही स्वार्थ बोकेका ‘कथित’ अभियन्ताहरुकै कारण संस्था बर्बाद भएको उनको बुझाइ छ ।

‘संघको उद्देश्य गलत छैन, यहाँ त स्वार्थी जमात हावी भयो’- उनले भने- ‘अब सबै मतभेद त्यागेर संघलाई नयाँ जीवन दिउँ ।’  


दयानिधि शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आए ।

यता आएर बेलायतको लेस्टरमा तीनवटा इटालियन रेष्टुरेन्ट चलाइरहेका सापकोटालाई संघबाट फाइदा लिनु केही छैन् । बरु उनी आफैं दान दिन सधैं अगाडि सर्छन् ।

नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर छ उनको आर्थिक सहयोग । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू