शुक्रबार, १५ अगस्ट, २०२५
07:06 | ११:५१

लन्डनमा श्रीमद्भागवत कथा समारोहको तेस्रो दिन भजन–कीर्तन र आध्यात्मिक प्रवचन

नेपाली लिङ्क अगस्ट १४, २०२५


लन्डन । बेलायतमा पहिलोपटक सार्वजनिक रूपमा आयोजना गरिएको श्रीमद्भागवत कथा समारोहको तेस्रो दिन साउथलस्थित विश्व हिन्दू मन्दिर भजन–कीर्तन र आध्यात्मिक उत्साहले गुञ्जायमान भयो।

धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायतमा बसोबास गर्ने श्रद्धालुहरूको सक्रिय पहलमा भैरहेको यस कथामा नेपालका विख्यात कथावाचक पण्डित कुवेर सुवेदीले नियमित रुपमा प्रवचन दिइरहेका छन्।

बुधवार सुवेदीले सुकदेव भागवत कथा प्रारम्भ गरे। उनले सुकदेवस्वामीले राजा परीक्षितलाई सात दिनपछि सर्पदंशबाट मृत्यु हुने श्राप प्राप्त भएको प्रसंग सुनाउँदै मृत्युको क्षणलाई आध्यात्मिक उन्नतिमा परिणत गर्ने उपायको रुपमा श्रीमद्भागवत श्रवणको महत्त्व व्याख्या गरे। सुवेदीले राजा परीक्षितको चार ‘आसन’ — स्वास नियन्त्रण, सत्सङ्ग, इन्द्रिय विजय र मन स्थिरता — पूरा गर्न सकेमात्र भगवानप्रति मन एकाग्र गर्न सकिने धारणा प्रस्तुत गरे।

कथाबीचमा प्रस्तुत नेपाली भजन–कीर्तनले वातावरणलाई झन् भक्तिमय बनायो। मंगलबारदेखि सुरु भएको यस आध्यात्मिक महोत्सवको तेस्रो दिन अपेक्षाभन्दा धेरै भक्तजनको सहभागिता देखिँदा सुवेदीले बेलायतस्थित नेपाली समुदायको धर्मसंस्कृतिप्रतिको प्रेमले आफू उत्साहित भएको बताए।

शुक्रवार सुवेदीले नेपालमै मात्र पाइने चतुर्थ दिव्य शालिग्राम भगवानको गंगानदी सहित, कर्मबन्धनमा परेका भरतराजाको पावन चरित्र र दिव्य प्रशंसा प्रस्तुत गर्नेछन्।

तेश्रो दिनको प्रवचनमा निरुसा भट्टराई पाण्डेको मधुर स्वरका भजनले विशेष आकर्षण थपेको थियो। आधा दर्जनभन्दा बढी कथा–कर्ताहरूले आफ्ना पितृहरूको स्मृतिमा सक्रिय सहभागिता जनाइरहेका छन्।

लिस्टर, पिटरबरो, कोभेन्ट्री, रेडिङ, अल्डरशटलगायत विभिन्न शहरबाट भक्तजनहरू दैनिक रूपमा साउथल पुगिरहेका छन्।

कार्यक्रम सफलताका लागि पण्डित चिरन्जीवी ढकाल, निलहरी घिमिरे, दधि आचार्य, श्री वालेश्वरीदेवी, सहदेव गिरी, टिया आचार्य , सुलेखा गुरुङ, आनन्द आचार्य, चिरन शर्मा, होमनाथ पौडेललगायतको टोली सक्रिय रह्यो।

बुधवारको प्रसाद तथा भोजन व्यवस्थापन टिका राई, रेनु राई, देवराज राई, सुसन राई परिवार, हरि राई लगायत फेल्थामवासी नेपालीहरूले गरेका थिए।

एक हप्तासम्म चल्ने कथा–सप्ताह १२ अगस्टदेखि १८ अगस्टसम्म दैनिक रूपमा सञ्चालन हुनेछ। सनातन धर्मको अमूल्य ग्रन्थ श्रीमद्भागवत महापुराणको १२ स्कन्धअनुसारको संक्षिप्त कथा भक्तजनमाझ प्रस्तुत भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू