सोने यूकेसँग कुलमान: ‘उज्यालो नेपाल’ मा बेलायतका इन्जिनियरको पनि साथ



लन्डन- सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङसंग अन्तरक्रिया गरेको छ ।
सोसाइटीले बिहीबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा कार्यक्रम गरेको हो ।
सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता कुलमान घिसिङले आफ्नो कार्यकाल शुरु हुंदा ९ वर्ष अगाडि १६ घण्टासम्मको लोडसेडिङ रहेको देशमा त्यसलाई अन्त्य गरि ९० अर्ब रुपैयांसम्म नाफामा लान सम्भव भएको बताए ।
तर, कुलमानलाई नराम्रो बनाउन प्राधिकरण घाटामा छ भन्ने गलत प्रचार प्रसार गरिएको उनको गुनासो थियो ।
उनले नेपालमा हाइड्रोपावरको इतिहास उल्लेख गर्दै यसका सम्भावनाबारे पनि बताए । उनको भनाइमा विभिन्न अध्ययन अनुसार नेपालमा ३० रिजरभोयर साइटमा हाइड्रो प्रोजेक्ट सम्भावना बढी छ । नेपालमा एकसय गिगावाटसम्म विद्युत उत्पादन क्षमता भएको उनले जानकारी दिए ।
हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जनाउंदै उनले निजी क्षेत्र खुल्ला गरिएपछि ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको बताए ।
घिसिङले क्रस बोर्डर ट्रेडबारे उल्लेख गर्दै अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए ।
गत वर्ष १७ अर्ब निर्यात हुंदा आयात १२ अर्ब रुपैयां मात्र भएको आंकडा पनि उनले प्रस्तुत गरे ।
जलश्रोत व्यवस्थापन महत्वपूर्ण हुने जनाउंदै उनले नेपाल अहिले इलेक्ट्रिक सवारी साधन चल्ने देशमा विश्वकै अग्रपंक्तिमा रहेको बताए । १५ गुणासम्म सस्तो हुने भएकाले अहिले विद्युतीय सवारी साधन गाउं गाउं पुगेका उनले सुनाए ।
विद्युतका कारण राम्रो वातावरणीय प्रभाव परेको उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजन नेपालको अर्को उर्जाको श्रोत हुने औंल्याए । र, यो क्लिन इनर्जी युरोप निर्यात गर्न समेत सकिने उनको धारणा थियो । उर्जाबाटै ट्रेड डिफिसिट शून्यमा लान सकिने विश्वास उनले व्यक्त गरे ।
इनर्जी सेक्यूरिटी, फुड सेक्युरिटीका लागि नेपालको हाइड्रोपावर प्रभावकारी बनेको उनले सुनाए । सोलार इनर्जी उत्पादन र प्रयोग बढिरहेको समेत घिसिङले उल्लेख गरे ।
ह्युमन रिसोर्स नेपालको एसेट भएको भन्दै विदेशमा रहेका नेपाली इन्जिनियरहरुले धेरै राम्रो काम गरेका उनले बताए । ‘तर, उनीहरुलाई नेपालमा बस्ने वातावरण भइरहेको छैन्’, उनले भने, ‘यसका लागि पनि तपाईंहरुकै योगदान आवश्यक छ ।’
नेपालमा बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र आशाको उज्यालो छर्न पनि आफूले सामाजिक अभियान उज्यालो नेपाल अभिभान शुरु गरेको उनले बताए । आफ्नो अभियानमा जोडिन आग्रह गर्दै घिसिङले यो अभियान राम्रो लिडरसीप जन्माउन भएको पनि प्रष्ट्याए ।
वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा समाधान गरेमात्र पनि नेपालमा विदेशका नेपालीबाटै यथेष्ट लगानी भित्रिने उनको भनाइ थियो।
इन्जिनियर घिसिङले सहभागीका विभिन्न जिज्ञासा समेत मेटाएका थिए । सहभागीहरुको विभिन्न प्रश्नमा उनले ३५ वर्षपछि हाइड्रो प्रोजेक्ट सरकारलाई हस्तानतरण गर्नुपर्ने ऐन, पहिला घाटामा गएको प्राधिकरण कसरी एकाएक नाफामा गयो र लोडसेडिङ मुक्त बन्यो ? अहिले नयां कार्यकारी निर्देशकले फेरि किन प्राधिकरण घाटामा रहेको बताइरहेका छन् ? उज्यालो अभियान दलको प्रारम्भिक चरण हो वा सामाजिक अभियान ? आदिबारे प्रष्टयाएका थिए ।
सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले प्रमुख अतिथी घिसिङ एवं सहभागी सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले घिसिङसंग गहन छलफल भएकामा उनीप्रति धन्यवाद व्यक्त गर्दै विकासको आधारशीला नै उर्जा क्षेत्र भएको बताए ।
इन्जिनियर बिना विकास कल्पना पनि गर्न नसकिने बताउंदै उनले आफ्नो दक्षता नेपालमा समेत लगाउनुपर्ने बेला आएको बताए । नेपालमा वातावरण भए लगानी गर्न आफूहरु नै सक्षम भएको उनको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले नेपालको समृद्धि लक्षित घिसिङको उज्यालो अभियानमा बेलायतका नेपाली इन्जिनियरहरुको पूर्ण साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।
इन्जिनियर विजय गुरुङले उक्त इभेन्ट मोडेरेट गर्दै कुलमान घिसिङलाई आफ्ना महत्वपूर्ण ज्ञान सेयर गरेकामा आभार व्यक्त गरे । सो अवसरमा महासचिव मनोज पुनले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव संगीता पोख्रेलले गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५