बुधबार, १३ अगस्ट, २०२५
17:53 | २२:३८

बर्मिङहमको नेपाली रेष्टुरेन्ट ‘टेष्ट अफ हिमालयन’ लाई इंग्लिस करी अवार्ड

नेपाली लिङ्क अगस्ट १३, २०२५

लन्डन- बेलायतको बर्मिङहममा सञ्चालित नेपाली रेष्टुरेन्ट ‘टेष्ट अफ हिमालयन’ ले यहाँको प्रतिष्ठित ‘इंग्लिस करी अवार्ड’ जितेको छ ।

विगत साढे दुई वर्षदेखि बर्मिङहम ब्ल्याकहिथ रउलीमा सञ्चालन हुंदै आएको रेष्टुरेन्टले इंग्लिस करी अवार्ड २०२५ अन्तर्गत ‘नेपलिज रेष्टुरेन्ट अफ द इयर’ को अवार्ड प्राप्त गरेको हो।

गत सोमबार स्थानीय इष्टसाइड होटलमा आयोजित एक भव्य समारोहमा टेष्ट अफ हिमालयनका सञ्चालक तथा हेड सेफ तेज भण्डारीसहितको टीमले अवार्ड ग्रहण गरेको छ ।

गत वर्ष इंग्लिस करी अवार्डका लागि मनोनयन भएर रनर अप बनेको रेष्टुरेन्टले यसपटक अवार्ड प्राप्त गर्न सफल भएको सञ्चालक भण्डारीले नेपालीलिंकलाई बताए ।

‘हाम्रो रेष्टुरेन्ट सञ्चालन भएको छोटो समयमै बेलायतको प्रतिष्ठित करी अवार्ड पाउँदा हामी निकै खुशी छौं’, भण्डारीले भने, ‘हाम्रा सबै ग्राहक, स्टाफ र शुभेच्छुकहरुलाई सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।’

टेष्ट अफ हिमालयनले स्ट्रिट फुड कन्सेप्टमा नेपाली परिकारहरु सर्भ गर्ने गरेको छ । रेष्टुरेन्टले आफ्ना ग्राहकहरुलाई स्वादिष्ट नेपाली परिकारका साथमा नेपाली स्वादमा मोडिफाइ गरिएका इन्डियन परिकारहरु समेत पस्किंदै आएको छ ।

रेष्टुरेन्टमा नेपाली मःमदेखि बटर चिकन, चिकन टिक्का मसालाजस्ता परम्परागत इन्डियन करीहरु निकै लोकप्रिय छन् । रेष्टुरेन्टले इन्डियन परिकारलाई मोडिफाइ गरी नेपाली स्वादमा पस्किएका हिमाली मोहीको झोल, तन्दुर खजानाजस्ता परिकार पनि ग्राहकको मन जित्न सफल छन् ।

ग्राहकको आग्रहमा छोइला, सुकुटी, सेकुवासहितका मौलिक नेपाली परिकारहरु पनि तयार गरिने सञ्चालक भण्डारी बताउँछन्।

रेष्टुरेन्टमा तीस जनाको सिटिङ क्षमता छ । टेकवे र डेलिभरी सेवामा व्यस्त रहने रेष्टुरेन्टले विभिन्न अवसरहरुका लागि आउटडोर क्याटरिङ पनि उपलब्ध गराउँछ ।

रेष्टुरेन्टका सञ्चालक समेत रहेका हेड सेफ तेज भण्डारी इन्डियन तथा नेपाली सेफका रुपमा तीन दशकभन्दा लामो समयका अनुभवी हुन् ।
बाग्लुङ गल्कोट घर भएका उनी शुरुमा इन्डियामा १० वर्ष र त्यसपछि कतारमा ९ वर्ष प्रतिष्ठित रेष्टुरेन्टहरुमा काम गरेपछि १६ वर्षअघि बेलायत आएका थिए ।

उनले बर्मिङहममा चर्चित बलिउड गायिका आशा भोस्लेको लगानीमा खुलेको रेष्टुरेन्ट आशाजमा पनि करी सेफका रुपमा काम गरेका थिए ।

टेष्ट अफ हिमालयनले आँफै उत्पादन गरेका फ्रोजन मःम बेलायतभर डेलिभरी समेत गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू