मंगलबार, १२ अगस्ट, २०२५
20:37 | ०१:२२

कुलमानको सम्मानमा तमुधिं यूके भवनमा रात्रीभोज र सांस्कृतिक सन्ध्या

नेपाली लिङ्क अगस्ट १२, २०२५

लन्डन- तमुधिं यूकेले उज्यालो नेपालका नायक एवम् नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा सोमबार सांझ एक रात्रीभोज गरेको छ ।

सोमबार बिहानमात्र बेलायत आइपुगेका घिसिङलाई तमुधिं यूके भवन मिचेटमा सम्मान गरिएको हो । पाइपर धुनका साथ हल प्रवेश गरेका उनलाई तमुधिं यूके पदाधिकारीले माला लगाएर न्यानो स्वागत गरे । 

उनलाई हलभित्र गुरुङ परम्परा अनुसार तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फेटा लगाएर सम्मान गरे । साथै उनको सम्मानमा केक समेत काटियो ।

घिसिङ नेपाली मेलामा विशेष अतिथीका रुपमा सहभागी हुन तमुधिं यूकेकै निमन्त्रणामा बेलायत आएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिसिङले तमुधिं यूकेको सम्मान र मेलामा आतिथ्यप्रति आभार व्यक्त गरे । नेपाललाई संसारभर गोर्खाज् भनेर चिनाउने समुदायमाझ उभिन पाउंदा आफू गौरवान्वित भएको बताउंदै उनले झण्डै २० वर्षपछि यूके आउंदा पाएको माया र सद्भवप्रति आभार पनि व्यक्त गरे ।  

उनले आफूले ३० वर्ष विद्युत क्षेत्र र ८ वर्ष कार्यकारी भूमिकामा काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको उल्लेख गरे। 

नेपालको समृद्धिका लागि उर्जाको महत्वपूर्ण भूमिका हुने घिसिङको भनाइ थियो । आफ्नो ८ वर्ष कार्यकालमा लोडसेडिङ अन्त्यभन्दा सतप्रतिशत जनतामा बत्तीको पहुंच पुग्नु ठूलो उपलिब्ध ठानेको उनले बताए । राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको उनले बताए ।

सरकारले प्राधिकरणबाट वर्खास्त गर्दा होस् वा चिलिमे हाइड्रोपावरमा काम गरेर निस्कंदा, आफ्नो पक्षमा जनमत देखिनु पछाडि जनतालाई केन्द्रमा राखेर काम गरे जनताले सम्मान र सहानुभूति दिने रहेछन् भन्ने प्रमाणित भएको उनले सुनाए ।

पहिलो कार्यकालमा राम्रो टिम बनाएर रिजल्ट निकाल्न सकेको र दोश्रो कार्यकालमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउंदै भारत र बंगलादेशमा निर्यातसहित हरेक जनतामाझ विद्युतको पहुंच पुर्‍याएको उनले बताए । ‘तर ४ महिना कार्यकाल बांकी छंदै कार्यसम्पादन मूल्यांकनमा शून्य दिएर सरकारले मलाई वर्खास्त गरेपनि देशविदेशबाट सम्मान, माया सद्भाव पाएको छु त्यही सम्पत्ति हो मेरा लागि’- घिसिङले भने- ‘म सरकारी कामबाट बाहिरिए पछि ४ महिनादेखि उज्यालो नेपाल अभियान लिएर निस्किएको छु ।’ 

अभियानमा जोड्न र आवश्यक सरसल्लाह लिन मध्यपूर्वका बहराइन, ओमान, कतार र यूएई अनि अमेरिकामा १० वटा कार्यक्रममा सहभागी भएको उनले जनाए । आफू युरोपका केही देश समेत पुग्ने उनले बताए ।

उज्यालो नेपाल अभियानको मुख्य उद्देश्य समग्रतामा तीन विषय पहिलो समृद्धिको खाका कोर्ने, दोस्रो देशविदेशमा नेटवर्किङ विस्तार र तेश्रो राम्रो पोलिटिकल लिडरसीप टिम जन्माउने रहेको उनले प्रष्टयाए ।

यो अहिले नै पार्टी नभएको बताउंदै उनले अभियानमा साथ सहयोगका लागि सबैमा आग्रह गरे । ‘भविष्यमा तपाईंहरुको विश्वासघात नगरि अगाडि बढ्नेछु’, उनले भने ।

उनले बत्तीको उज्यालोले मात्रै नेपालीका सबै समस्या समाधान नहुने बताउंदै सुशासनसहित समृद्ध नेपाल बनाउन र देशमा व्याप्त निराशा अन्त्य गरी आशाको संचार गर्न उज्यालो नेपाल अभियान सुरु गरिएको बताए । 

‘वर्षको ८ खर्ब रेमिटेन्स पठाउने मध्यपूर्वका साथीहरुले हामीलाई त देशमा उल्टो अपमान गर्छन् भन्नु भयो । जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सको छ, यो नभएको भए देश के हुन्थ्यो ?’ घिसिङले प्रश्न गर्दै भने- ‘तर, उहांहरुलाई सम्मान होइन अपमान भयो । देशभित्र पनि अपमान, बाहिर पनि अपमान । कसरी बन्छ देश ?’ 

संविधानले दिएको अधिकार विपरित नेपालीले नेपालमै लगानी गर्न नसक्ने, सर्वोच्चको आदेशसमेत पालना नगरि भोट हाल्न नदिने र वंशजको नागरिकता नदिए प्रवासका नेपाली नेपाल फर्किने वातावरण नबन्ने उनको भनाइ थियो ।

‘विदेशमा वैज्ञानिक र वुद्धिजिवी हजारौं  छन् । तर हामीले त्यो विज्ञता प्रयोग गर्न सकेनौं । श्रम बाहिर, पेशेवरहरु बाहिर । देशमा निराशाको मात्र कुरा भएको छ । नेपालका लागि अबको ठूलो एसेट विदेशका नेपाली हो’- उनले भने- ‘नेपाललाई समृद्ध बनाउने यही वर्ग हो । विदेशमा बसेका नेपालीले योगदान गर्ने हो भने नेपाल बन्न दश वर्ष पनि लाग्दैन ।’

सही ठाउं, सही समयमा सही व्यक्ति र पोलिटिकल लिडरसीप राम्रो भए देशको समृद्धि हुने नत्र कहीं कल्पना गर्न नसकिने उनको धारणा थियो ।

समृद्धिको एउटा आधार हाइड्रोपावर भएको उनको धारणा थियो । वार्षिक १० खर्ब रुपैयांको विजुली निर्यात गर्न सके ‘ट्रेड डिफिसिट’ जिरो गराउन सकिने विश्वास पनि उनले व्यक्त गरे । 

अहिले विद्युत उत्पादन करिब ४ हजार मेगावाट र यसमध्ये एक हजार मेगावाट निर्यात भएको उनले बताए ।

कार्यक्रमका सभापति तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलामा विशेष अतिथिको निमन्त्रणा स्वीकार गर्दै बेलायत आएकोमा घिसिङप्रति आभार प्रकट गरे ।

अध्यक्ष गुरुङले घिसिङले शुरु गरेको उज्यालो नेपाल अभियानको सफलताको कामना गर्दै देशलाई उज्यालोतर्फ अघि बढाउने उनको आकांक्षा साकार बन्ने विश्वास व्यक्त गरे । साथै, कार्यक्रममा सहभागी सबैलाई उनले संस्थाको तर्फबाट धन्यवाद पनि दिए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिंदै उज्यालोका नायक घिसिङलाई आफ्नै भवनमा स्वागत गर्न पाउनु ऐतिहासिक भएको बताए ।

कार्यक्रम सञ्चालन गर्दै संस्थाका महासचिव डा. विशाल गुरुङले घिसिङले लोडसेडिङ मुक्त गरेर नेपाल र नेपालीकै सान उच्च राखेको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु  रामचन्द्र सूर्जे गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ,   सुवसिंह गुरुङ, हरि गुरुङ, ट्रष्टी सूर्य गुरुङ र डा. सिबी गुरुङ, आमा प्रमुख कमलादेवी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, तमुधिं लन्डन इकाई अध्यक्ष भरत गुरुङ, अनररी सदस्य एलएन पाण्डे, सल्लाहकार मोहन गुरुङलगायत अन्य सल्लाहकारहरु, पदाधिकारी एवं ट्रष्टीहरु सहभागी थिए ।

कार्यक्रमका सहभागीले घिसिङ जस्ता सक्षम व्यक्तित्वबाट मुलुकको नेतृत्व भए देश समृद्धितिर जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपालबाट आएकी नृत्याङ्ना अस्मिता पुरीले गैरी खेतको शिरै हान्यो…गीतमा स्वागत नृत्य गरेकी थिइन् । तमुधिं यूकेले घिसिङलाई आफ्ना गतिविधि समेटिएको एक वृत्तचित्र समेत प्रस्तुत गरेको थियो ।

घिसिङ यही अगष्ट २४ मा आयोजना हुन लागेको तमुधिं यूकेको १६ औं नेपाली मेलामा विशेष अतिथिका रुपमा सहभागी हुने छन् ।  

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू