शनिबार, ९ अगस्ट, २०२५
21:53 | ०२:३८

लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक रक्षावन्धन, सयौंको घुइंचो (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट ९, २०२५

लन्डन- बेलायतमा बस्ने नेपालीहरुले पनि जनैपूर्णिमा तथा रक्षावन्धन आ-आफ्नै किसिमले मनाएका छन्।

शनिबार बेलायतका विभिन्न क्षेत्रमा स्थानीय नेपाली समुदायद्वारा स्थापित मन्दिरहरुमा विविध कार्यक्रमसहित सामूहिक रक्षावन्धन गरिएको छ ।

लन्डनको पशुपतिनाथ मन्दिरमा आयोजित सामूहिक रक्षावन्धनमा झण्डै पन्ध्र सय संख्यामा स्थानीय नेपालीहरु सहभागी भए ।

मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार बिहान ५ बजेदेखि नै मन्दिरमा रुद्राभिषेक, हवनलगायतका कार्यक्रमसहित जनै तथा डोरो पूजन गरिएको थियो ।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म झण्डै आधा दर्जन पण्डितहरुले उपस्थित करिब १५ सय स्थानीय नेपालीहरुलाई डोरो तथा जनै वितरण गरिदिएका थिए ।

जनैपूर्णिमाका लागि मन्दिरमा उपस्थित भक्तालुहरुलाई स्वयमसेवकहरुको सहयोगमा मन्दिरले चिया, प्रसादसमेतको व्यवस्था मिलाएको थियो ।

जनैपूर्णिमाको कार्यक्रम सफल र व्यवस्थित पार्न योगदान गर्ने सबै पण्डित, स्वयमसेवक, श्रद्धालु एवम् मन्दिर समितिका पदाधिकारीहरुलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले धन्यवाद ज्ञापन गरेका छन् ।

आगामी दिनमा यस्ता कार्यक्रमहरु थप व्यवस्थित गर्न मन्दिरको क्षमता र श्रद्धालुहरुको सुविधा बिस्तार गर्ने लक्ष्य राखिएको अध्यक्ष अर्यालले बताए ।

तस्विरहरु: प्रकाश कंडेल

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू