बुधबार, ६ अगस्ट, २०२५
19:00 | २३:४५

लन्डनमा स्थापित सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार डा. खनालको ‘सावर्णि’ लाई

नेपाली लिङ्क अगस्ट ५, २०२५

लन्डन—लन्डनमा स्थापित सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी ५ सय पाउण्ड छ। 

एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ वि.स २०८१ सालमा सार्वजनिक भएको थियो जसलाई बुकहिलले बजारमा ल्याएको हो।

पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन्। फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ।

‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएका छन् ।

पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सम्मान गर्दै आएको जनाए ।

च्याप्टरले यसअघि ‘सुप्रमा – ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार – २०२५’ का  लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको थियो जसमा डा. श्रीधर खनाल उपन्यास सावर्णि, ठाकुर बेलवासेको कवितासंग्रह चोटहरूको उत्सव, जीत बुढाथोकी छन्त्यालको मुक्तकसंग्रह यानीमाया, लालगोपाल सुवेदीको कवितासंग्रह अनि प्रतीत्य समुत्पाद-शुन्य शून्य महाशून्य, सूर्य खड्का विखर्चीको खण्डकाव्य अर्जुन-उलूपी, डा. राजकुमार छेत्रीको भूमिकासंग्रह अक्षरका आय, सुमन थापा ‘संगम’को कवितासंग्रह अभ्युदय, सबी श्रेष्ठको मुक्तकसंग्रह अपरिभाषित आभा, खगेन्द्र गिरि ‘कोपिला’ को नियात्रासंग्रह पर्जन्य मास र  विजय हितानको कवितासंग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनू’ छनोट भएका थिए ।

ति १० मध्ये ‘सावर्णि’ सर्वोत्कृष्ट कृतिका रुपमा पुरस्कृत हुने घोषणा भएको हो ।  सर्वोत्कृष्ट कृतिका स्रष्टालाई अगस्ट ९ तारिख लण्डनमा हुने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा पुरस्कृत गरिने भएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू