एनआरएनए यूकेको नयाँ नेतृत्व चुन्न अनलाइन मतदान जारी, मध्यान्हसम्म करिब ४० प्रतिशत



लन्डन– एनआरएनए यूकेको नयाँ नेतृत्व चुन्न अनलाइन मतदान जारी छ । एनआरएनए यूके अध्यक्ष, खुला उपाध्यक्ष, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष, महासचिव, सचिव, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष र आइसीसी सदस्य पदका लागि मतदान भएको हो ।
भेरो भोटिङमार्फत शनिबार मध्यरातदेखि शुरु मतदानमा मध्यान्ह १२ बजेसम्म करिब ४० प्रतिशत मत खसेको निर्वाचन समितिका सदस्य सचिव श्याम लुईंटेलले जानकारी दिए । निर्वाचनमा एनआरएनए यूकेका कुल ३ हजार ५ सय १ जना सदस्य मतदाता छन् । मतदान बेलुका १० बजेसम्म खुला रहनेछ।
एक अध्यक्षका लागि तीन जना, दुई खुला उपाध्यक्षका लागि चार जना, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि दुईजना, एक महासचिव पदका लागि दुईजना, दुई सचिव पदमा तीन जना, इंग्ल्याण्ड राज्य परिषद अध्यक्षको एक पदका लागि दुई र तीन जना आइसीसी सदस्यका लागि चार उम्मेदवार चुनावी मैदानमा छन् ।
अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेलको त्रिपक्षीय भिडन्त छ । खुला उपाध्यक्षमा डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले, महासचिवमा पुण्य रेग्मी र दिवाकर पाण्डे, सचिवमा डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटा, इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा अहिल्या कुँवर र राममाया विष्ट तथा आइसीसी सदस्यहरुमा तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल चुनावी मैदानमा छन् ।
निर्वाचन समितिले शनिबार मध्यरातसम्म नतिजा घोषणा गर्ने योजना रहेको बताएको छ । निर्वाचित कार्यसमितिको पदस्थापन भने आइतबार अल्डरसटमा गर्ने कार्यक्रम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५