लन्डन घुमेर फर्किएका मुख्यमन्त्री लामाको पद धरापमा



लन्डन । करिब डेढ साताको बेलायत भ्रमण सकेर ५ दिन अघि नेपाल फर्किएका बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने उद्देश्यसहित शुक्रबार संसदीय दलका ३७ जना सांसदमध्ये २१ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
प्रदेश सभाको दलका सचिव कृष्णकुमार तामाङसमक्ष कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा अविश्वास प्रस्ताव बुझाइएको हो।
संसदीय दलको अभिलेखअनुसार आर्थिक वर्ष ०८२-८३ को दर्ता नम्बर ०२ मा प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा भनिएको छ, ‘मुख्यमन्त्री लामाको नेतृत्वमा रहँदा न प्रतिपक्षको भूमिका प्रभावकारी रहन सक्यो, न त सरकारको नेतृत्व गर्दा परिणाम देखियो। यसले पार्टीको छवि गम्भीर रूपमा धुमिल भएको छ।’
मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वास प्रस्तावमा उल्लेख छ ।
मुख्यमन्त्री तामाङ, उनका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहितको टोली बेलायत घुमेर गत २० जुलाई आइतबार नेपाल फर्किएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५