एनआरएनए यूके अध्यक्ष उम्मेदवार पुडासैनीले सार्वजनिक गरे प्यानल र १० एजेण्डा



लन्डन- एनआरएनए यूके अध्यक्ष उम्मेदवार राजेन्द्र पुडासैनीले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
सोमबार लन्डन नर्थ वेम्लीस्थित एरोमा बार एण्ड रेष्टुरेन्टमा सञ्चारकर्मी तथा आफ्नो टिमका उम्मेदवारहरुबीच पुडासैनीले आफ्नो १० प्रतिवद्धता पुनः दोहोरयाए ।
उनले लिडरसीप क्राइसीसबीच संघलाई रिब्रान्डिङ, वृहत्तर राष्ट्रवाद (एक्सटेन्डेड नेशनलिजम), संस्थागत एकता सुदृढ संगठन, दुःख र आपतकालमा सहारा, युवा तथा दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान र सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, संघसंस्थाहरुसंगको सहकार्य, विज्ञहरुको सञ्जाल निर्माण, पुस्तान्तरण अभियान, दीगो र भरपर्दो एनआरएन, सबै नेपालीको आस्थाको पुञ्ज साझा घर नेपाल हाउस बनाउने जस्ता आफ्ना मुख्य एजेन्डा प्रस्तुत गरे ।
‘एनआरएनए यूके सबैको साझा संस्था हो, यो सम्पूर्ण सदस्यहरुको सामूहिक पहिचान र गौरव पनि हो’, पुडासैनीले भने, ‘यो संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’
एनआरएनएलाई महशुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । आप्रवासीलाई काममा हेपिनु पर्ने, शोषित हुनुपर्ने भएकाले आफ्नो मजदुर युनियनको अनुभव र आवद्धता आम नेपालीलाई सदुपयोग गर्ने पनि उनले बताए ।
उनले संस्थाको उदय भएको देश बेलायतमा वर्तमान परिस्थितिबाट निराश आम गैर आवासीय नेपालीहरुलाई आशाको सञ्चार जगाउंदै वृहत्तर एकता र समझदारीका लागि प्रतिवद्ध रहने समेत बताए ।
उनले चुनावी अभियानका क्रममा आफ्नो बढ्दो सक्रियता र प्रचार प्रसारबाट इष्र्या गरेर केही विरोधीले अनैतिक काम गरि फेसबुक नै बन्द गराइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
महासचिव उम्मेदवार दिवाकर पाण्डेले पुडासैनी जस्तो सक्षम व्यक्तिको नेतृत्वमा रहेर काम गर्न निकै उत्साहित भएको बताउंदै आफू पनि एक दशकदेखि एनआरएनए अभियानमा जोडिएको र अन्य १२ संस्थाहरुको सचिव भइसकेकाले सदस्यहरुको अपेक्षा पुरा गर्ने अठोट व्यक्त गरे । एनआरएनए यूके स्कटल्याण्ड राज्य परिषदको सचिव र अध्यक्ष भइसकेका पाण्डेले स्कटल्याण्डमा पहिलोपटक नेपाली मेलासहित धेरै उल्लेखनीय सामाजिक कार्य गरेको उदाहरण प्रस्तुत गर्दै अझ धेरै गर्ने हुटहुटी रहेको बताए ।
पाण्डेले कुल ३ हजार ५०१ मतदातामध्ये ४३ प्रतिशत स्कटल्याण्डबाट भएकाले आफ्नो टिमलाई स्थानीय मतदाताले पूर्ण सहयोग गर्ने आशा पनि व्यक्त गरे ।
कार्यक्रममा आइसीसी सदस्य उम्मेदवार तुंगभद्र भुषाल, देउमान इजम, उपाध्यक्ष उम्मेदवार शम्भुप्रसाद अर्याल, सचिव उम्मेदवार डिएन (धातानन्द) खराल, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष उम्मेदवार राममाया विष्टले पनि आफ्नो संक्षिप्त परिचय दिंदै मतदिन सबैमा अपिल गरेका थिए ।
एनआरएनए संस्थापक सचिव चिरञ्जिवी ढकालले युवा तथा दोश्रो पुस्ता आकर्षित गर्ने पुडासैनीको एजेण्डा महत्वपूर्ण भएको बताए । उनले अढाइ दशकदेखि पुडासैनीलाई चिनेको जनाउंदै उनी एक सक्षम उम्मेदवार भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रवासी नेपाली मञ्च यूके अध्यक्ष पशुपति पोखरेलले पुडासैनी कुशल संगठक र सिद्धहस्त नेता भएको बताउंदै उनको नेतृत्वले संघमा परिवर्तन र सुधार ल्याउने विश्वास व्यक्त गरे ।
चीनबाट आएका एनआरएनए अभियन्ता रोहित अग्रवालले पुडासैनीले संस्थालाई गरेको योगदान उल्लेखनीय रहेको बताउंदै मतदिन सबैमा अपिल गरे ।
बुद्धिजिवी एकेन्द्र गुरुङले पुडासैनीलाई आफूले नजिकबाट चिनेकाले उनले काम गर्न सक्छन् भन्ने पूर्ण विश्वास रहेको बताए । एनआरएनए यूके सचिव तिलक भट्टराई, प्रमेश शर्मा लगायतले पनि शुभकामना दिए ।
कार्यक्रममा उम्मेदवारहरुलाई शुभकामना दिन एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष कृष्ण भण्डारी, आइसीसी सदस्य सरस्वती केसी, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, एनआरएनए यूके सचिवप्रतिभा न्यौपानेलगायत उपस्थित थिए ।
आइसीसी सदस्य अर्थविद डा. मुकुन्द बास्तोलाले कार्यक्रम सञ्चालन गर्दै संघमा केही नयां परिवर्तन गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएकाले पुडासैनी टिमलाई साथ दिन अपिल गरे ।
चुनाव प्रचार प्रसार अभियानका संयोजक दिनेश घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संयोजक घिमिरेले सबै सहयोगीलाई धन्यवाद दिए ।
तस्विरहरु: प्रकाश कंडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५