मंगलबार, १६ जुन, २०२६
18:27 | २३:१२

२२ अगस्टदेखि बेलायतभर लाग्दैछ अन्तर्राष्ट्रिय ख्याति कमाएको ‘गाउं आएको बाटो’

नेपाली लिङ्क अगस्ट ८, २०२५


लन्डन । संसारका ठूला फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको प्रख्यात निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘अ रोड टु अ भिलेज’ (गाउं आएको बाटो) २२ अगस्टदेखि बेलायतभर प्रदर्शन गर्ने तयारी भएको छ ।

इंग्ल्याण्डको ब्रिस्टोलस्थित फिल्म वितरक कम्पनी अण्डरग्राउण्ड स्लेटले उक्त फिल्म बेलायत ल्याएको हो ।

फिल्म दि आसफोर्ड सिनेमा, सेभोय क्याट्रिककन, द लाइट वालसल, एक्टन लन्डन, ओडियन बेजिङस्टोक, ओडियन म्यानचेष्टर, ओडियन ग्रीनवीचसहित अल्डरसट, आसफोर्ड, बेक्सलीहिथ, बर्मिङहम, एडिनबरा, फेल्थाम र ग्लास्गोका सिने वर्ल्डमा प्रदर्शन तय भइसकेको निर्माता आमोद राईले जानकारी दिए । अन्य हलहरुमा समेत छिट्टै निश्चित हुने उनको भनाइ छ ।

यो फिल्म टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव र भारतको मुम्बई फिल्म फेस्टिभलमा ‘स्क्रिनिङ’ भइसकेको छ ।

फिल्मले आमाबाबु र बच्चाबीचको सम्बन्ध चित्रण गर्छ । फिल्मले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढाव र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने उजागर गरेको छ ।

ग्रामीण नेपालको पृष्ठभूमिमा सेट गरिएको यो फिल्मले परम्परागत जीवनमा आधुनिकीकरणको प्रभावको अन्वेषण गर्दछ ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ । फिल्म निर्मातामा नवीन सुब्बा र आमोद राई छन् ।

‘म सधैं नेपाली कला र संस्कृतिलाई विश्व मञ्चमा ल्याउन उत्साहित छु’, शिक्षकसमेत रहेका फिल्मका निर्माता आमोद राईले थपे, ‘विश्वस्तरीय फिल्म निर्माताहरूले घेरिएको हङकङ बस्दा मलाई सोधिएको थियो नेपालका कथाहरु किन एउटै पर्दामा देख्न सकिँदैन? त्यसैको उपज यो फिल्म विश्वव्यापी दर्शकहरुमा पुर्‍याउने हाम्रो दृष्टिकोणको अंश हो ।’

अन्डरग्राउन्ड स्लेटका सह-संस्थापक गेब्रियल वेट्जले नवीन सुब्बा निर्देशित फिल्म निर्मातासंग साझेदारी गर्न पाउँदा रोमाञ्चित भएको बताउंदै फिल्म व्यापक रुपमा यूके दर्शकमाझ ल्याउन प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू