आइतबार, २० जुलाइ, २०२५
19:11 | २३:५६

मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला

नेपाली लिङ्क जुलाइ २०, २०२५

लन्डन । धादिङ नुवाकोट समाज यूकेले शनिबार लन्डनमा फुटबल प्रतियोगितासहित समर भेटघाट कार्यक्रम गरेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा हन्स्लो लन्डनमा वार्षिक भेला भएको हो ।

बिहान फुटबल प्रतियोगिता र सांझ अवार्ड वितरण एवं सांस्कृतिक कार्यक्रमसहित समर भेटघाट भव्य रुपमा गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री लामाले बेलायतमा बसोबास गर्ने धादिङ र नुवाकोटवासी सबैलाई गोलवद्ध गरेर दुःख सुःखमा साथ दिने संस्थाको काम प्रशंसनीय रहेको बताए ।

लामाले बेलायतका नेपालीले देशको चिन्तन गर्दै समृद्धिको कामना गरिरहेकाले आफूहरु त्यसैमा लागेको उल्लेख गरे । मुख्यमन्त्री लामाले नेवार र तामाङ जातीको वाहुल्य रहेको बाग्मती प्रदेशमा भाषिक सहजताका लागि सरकारी कामकाजको भाषा तामाङ र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० मा समेटिएको पनि जनाए ।

विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले समाजले झण्डै १८ वर्षदेखि नेपाली कला संस्कृति, भाषा, रितिरिवाज संरक्षण र प्रवर्धन गर्दै आपतविपतमा सहयोगका हात फैलाउनु अनुकरणीय भएको बताए । गाहामगरले वंशजको नेपाली नागरिकतामाथि जोड दिंदै नेपालको अस्तित्व जोगाउन सबै मिलेर अगाडि बढ्नु पर्ने औंल्याए ।

समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) ले सबैप्रति आभार व्यक्त गर्दै मुख्यमन्त्रीको उपस्थितिले सबैलाई गौरव तुल्याएको बताए । धादिङ नुवाकोट समाज यूकेले सबैलाई एकताको सूत्रमा बांध्न सफल भएको उल्लेख गर्दै अध्यक्ष पाख्रिनले यो अन्य संघसंस्थाका लागि पनि उदाहरण बनेको जनाए ।

समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा धादिङ र नुवाकोटबाट बेलायत आएर जिल्ला अनि देशकै नाम उंचो राखेकामा स्वर्ण पदक विजेता अन्तर्राष्ट्रिय मार्सल आर्टस खेलाडी सरिना रानी घलेसहित बेलायती विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अवार्ड प्रदान गरियो ।

सो अवसरमा समाजका आजीवन सदस्यहरु, नेपालबाट आएका राष्ट्रिय कलाकारहरु देवी घर्ती, पवित्रा गुरुङ र लक्ष्मी खड्का, यूकेका कुमार योन्जनसहित स्थानीय कलाकारहरु तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

मुख्यमन्त्री बहादुरसिंह लामा, समाजका अध्यक्ष धन पाख्रिन, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले सम्मान प्रदान गरेका हुन् । साथै, अध्यक्ष पाख्रिनले मुख्यमन्त्री लामालाई संस्थाका तर्फबाट मायाको चिनो समेत प्रदान गरे ।

प्रमुख अतिथी लामा र अध्यक्ष पाख्रिनले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेपछि दुवै देशको राष्ट्रियगानसहित कार्यक्रम सुरु गरिएको थियो । उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य र उपाध्यक्ष गोल बहादुर तामाङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे बताए । कोषाध्यक्ष शेर पाख्रिनले प्रायोजकहरुको नाम पावर प्वाइन्टमार्फत प्रस्तुत गरेका थिए । कोषाध्यक्ष पाख्रिनले यसपटक नयाँ ठाउँमा कार्यक्रम गर्दा पनि दुवै जिल्लाका जिल्लावासीहरुको उत्सापूर्वक जमघट भएको बताए ।

शुरुमा कल्चरल सेक्रेटरी कृष्ण पाख्रिनले देशभक्ति गीत गएर सबैलाई स्वागत गरे । सांस्कृतिक सचिव कृष्ण पाख्रिनले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्का एवं लन्डनवासी गायक कुमार योन्जनले विभिन्न गीत प्रस्तुत गरे ।

सो अवसरमा सोनी गुरुङ, सविना गुरुङ, सुमिना तामाङ, इशानी घले, प्रशंसा गुरुङ र स्मृति थापाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

उता, समाजले बिहान आयोजना गरेको डीएनएस फुटबल कप २०२५ मा तामाङ समाज यूके च्याम्पियन बनेको छ । कुल ६ टिम सहभागी उक्त प्रतियोगितामा नेपलिज ब्रर्दस दोस्रो र बीजीएफसी तेस्रो भए । विजेता टिमलाई सांझ ३०० पाउण्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । रनरअपले २०० पाउण्ड नगद र प्रमाणपत्र पायो । डीएनएस फुटबल कप प्रतियोगिता संयोजन थमु वाइबाले गरेका थिए ।

कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ समेत गराइएको थियो । राफल ड्रको पहिलो पुरस्कार एकतोला सुन लामा ज्वेलर्स अल्डरसटका दीपेश लामाले, दोश्रो पुरस्कार आधा तोला सुन कमान एण्ड कम्पनी र बुद्ध कन्सट्रक्सन फेल्थामले, तेश्रो पुरस्कार सुनको चन्द्रमा जय श्रीकृष्ण ज्वेलर्स साउथ ह्यारो एवं चौंथो पुरस्कार समाजका सल्लाहकार राम गुरुङले प्रायोजन गरेका थिए ।

कार्यक्रमको औपचारिक शुरुवात अघि समाजले राष्ट्रका लागि सहादत प्राप्त गरेका ज्ञात अज्ञात शहीदहरु र हालै निधन भएका संस्थाका आजीवन सदस्य धनबहादुर तामाङ लगायत सदस्यहरुको निधनमा एक मिनेटसम्म पाइपरको धुनसँगै मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सहभागीहरु अबेरसम्म डिजे म्यूजिकमा रमाए । तस्विरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू