शनिबार, १९ जुलाइ, २०२५
15:23 | २०:०८

बेलायतका नेपाली घरबेटी

सुशील गौतम जुलाइ १७, २०२५

बेलायतमा नेपाली हुनु सजिलो छैन। यहाँको चिसो मौसमजस्तै कहिलेकाहीं जीवन पनि कठोर लाग्छ। तर यही चिसोपनलाई तापमा बदल्ने नेपालीहरूको साहसिक यात्राका थुप्रै अध्यायमध्ये एक हो, बेलायतमा नेपाली घरबेटी बन्नु। हामीमध्ये धेरैले बेलायतको यात्रा एउटा छानो खोज्ने संघर्षबाट सुरु गरेका हुन्छौं। एउटा सानो कोठा, साझा बाथरुम, अनि हरेक महिनाको रेन्ट तिर्दा कति पटक पेटको खर्च घटाउनु परेको थियो होला? तर त्यो अवस्था नै प्रेरणा बन्छ कतिको लागि । कहिलेकाहीँ कोठा खाली नभएर अपमानित हुनुपर्‍यो होला, कहिलेकाहीँ आफ्नै संस्कृति वा खानपानको कारण घर बाहिरिनुपर्ने अवस्था आयो होला। त्यो पीडा भोगेका हामीमध्ये केहीले सोच्यौं, अब हामी पनि मालिक बन्नु पर्छ । अब अरू नेपालीले अपमान होइन, सम्मान पाउनुपर्छ। बेलायतमा घर किन्नु सजिलो छैन। क्रेडिट हिस्ट्री, इन्कम प्रुफ, बैंक स्टेटमेन्ट, डिपोजिट, भ्यालुएसन। यी सबै झमेलाबीच एउटा सपना हिँड्छ, आफ्नो घरको सपना। कसैले ओभरटाइम गर्‍यो, कसैले व्यवसाय गर्‍यो, कसैले वर्षौं खर्च घटाएर पैसा बचायो। र त्यो पल आयो, जब नेपालीले बेलायतको भूमिमा घर किन्यो। नेपाली घरबेटी बन्नु भनेको केवल भाडा उठाउने होइन। हामी त्यो पुस्ता हौं जसले आत्मामा घर खोज्दछ, जसले कोठा भाडामा दिने मात्र होइन, साथ र सहारा दिन चाहन्छ। हामी चाहन्छौं कि नेपाली विद्यार्थीहरू, नयाँ आएका परिवारहरू, वा काममा व्यस्त युवाहरूले नेपालीको घरमा सहज अनुभूति गरून्। कोही विदेशमा आइपुगेका छन् भने उनीहरूले नेपाली घरबेटीकहाँ नेपालीपन भेटून् , सहानुभूति, माया, र साथ। आज हामी धेरै नेपालीहरु बेलायतमा घरबेटी छौं। भोली हामी रियल इस्टेट इनभेष्टर बन्न सक्छौं, आवास विकासकर्ता बन्न सक्छौं, आफ्नो कमाइबाट नेपालमै घर चलाउने मात्र होइन, देश बनाउने शक्ति राख्न सक्छौं। र सबैभन्दा ठूलो कुरा, हामी विदेशमा केवल भाडा तिर्ने होइन, भाडा लिने हैसियतमा आइपुगेका छौं। यो केवल आर्थिक प्रगति होइन, यो नेपालीहरूको परिश्रम र पहिचानको गर्व हो। बेलायतमा नेपाली घरबेटी हुनु भनेको एउटा साधारण शब्द जस्तो लागे पनि, त्यसभित्र लुकेको हुन्छ संघर्षको कथा, सपना भित्रको सपना, र आत्मसम्मानको विजय।

यद्यपि बेलायतमा नेपाली घरबेटीको अनुभव मिस्रित छ। धेरै नेपाली विद्यार्थी बेलायतमा पढ्न आउने बित्तिकै पहिलो झट्का कहाँ पाउँछन् भने आफ्नै नेपाली घरबेटीबाट। जुन ठाउँमा माया, सहारा र सहयोगको अपेक्षा गरिन्छ, त्यहीँबाट सुरु हुन्छ शोषण, निरुत्साह, र निराशा। जब हामी नेपालबाट हजारौं माइल टाढा आइपुग्छौं, हामीलाई लाग्छ, यहाँ त कमसेकम आफ्नै नेपालीहरूसँग सहारा पाउँछु होला। तर दुर्भाग्य, कहिलेकाहीँ त्यो आफ्नोपनको आवरणभित्र लुकेको हुन्छ स्वार्थ, अवहेलना, र पैसाको लोभ। नेपालबाट पढ्न आएका विद्यार्थीहरूलाई नै बढी भाडा मागिन्छ। समान कोठा, समान सुविधा, तर विदेशी विद्यार्थीभन्दा नेपाली विद्यार्थीलाई बढी भाडा। किन ? २-३ महिनाको एडभान्स भाडा मागिन्छ। एक महिनाको डिपोजिटभन्दा बढी राख्न बाध्य पारिन्छ। कहिलेकाहीँ बिना रसीद पैसा लिइन्छ, अनि पछि मैले त लिएको छैन भन्ने चोखो बनिन्छ। धेरैजसो नेपाली घरबेटीहरू यस्तो भन्छन्: पढ्न मात्रै आएको हो? काम नगरी कसरी तिर्छौ त? तिमीबाट केही हुँदैन, नेपाल फर्क। बेलायत सजिलो छैन। यी शब्दहरू केवल निराशाजनक मात्र होइन, अपमानजनक छन्। विद्यार्थीहरू जसले दुःख गरेर घर छाडेका छन्, ऋण लिएर आइपुगेका छन्, उनीहरूलाई हौसला होइन, ह्यारेसमेन्ट गरिन्छ। काम नपाएको, काम खोज्दै गरेको, अझै सेट हुन नसकेको अवस्थामा त सान्त्वना पाउने आशमा रहेका विद्यार्थीहरूलाई झनै मानसिक तनाव दिइन्छ।

नेपाली विद्यार्थीहरुलाई भान्सामा पनि अपहेलना हुनु परेको छ। दिनकै खाना नपकाउ, धेरै खर्च हुन्छ। एकैपटक पकाऊ, फ्रिजमा राख, २ – ३ दिन त्यही खानु। ग्यास र बिजुली बढी चल्यो भने म बिल बढी तिर्न सक्दिन। सस्तो ग्यास र बिजुलीको बहानामा, विद्यार्थीहरूलाई दिनहुँ ताजा खाना पकाउनै नदिने घरबेटी पनि भेटिन्छन् बेलायतमा। स्वास्थ्यको कुरा होइन, बचतको नाममा असहजता थोपर्ने प्रयास गरिन्छ। कुनै नेपाली घरबेटीहरुले घर होइन, जेलजस्तो अनुभव गराँउछन् । पाहुना ल्याउन मनाही छ। फोनमा ठूलो स्वरमा कुरा गर्न मनाही छ। कोठा सरसफाइ नगरिएको निहुँमा धम्की दिन्छन्।कहिले काहीं त डिपोजिट फिर्ता नदिने काम पनि गरिन्छ, यस्ता घरबेटीहरूको व्यवहारले परदेशमा विद्यार्थीहरूको मनोबल झनै कमजोर हुन्छ। उनीहरू पढ्न होइन, बाँच्नका लागि संघर्ष गरिरहेका हुन्छन्। विदेशमा आफ्नो हुनुको मतलब साझेदारी, सहयोग र सम्झदारी हो। तर जब आफ्नै नेपालीले अपमान गर्छ, विश्वास तोड्छ, तब त्यो परदेश झनै पर झैं लाग्छ। हामी नेपाली घरबेटीहरूलाई स्मरण गराउन चाहन्छौं, विद्यार्थीहरू तपाईंको कमाइको साधन होइनन्, उनीहरू तपाईंको सन्तान सरह हुन्। उनीहरूलाई प्रोत्साहन गर्नुहोस्, न कि दबाब दिनुहोस्। हामी नेपाली परदेशमा सफल हुनु भनेको केवल डिग्री हासिल गर्नु होइन।

हामीबीचको माया, सहकार्य र आत्मीयता जोगाउनु नै साँचो सफलता हो। कसैको सपनामाथि भार थोपर्ने होइन, त्यो सपना उड्न सकोस् भनेर पँखेटा दिने बन्ने हो।

लेखक सुशील गौतम

बेलायतमा आएर धेरै कुरा नयाँ थिए, मौसम, भाषा, संस्कृति, अनि जीवनशैली। तर ती सबैभन्दा पर, मेरो लागि परदेशमा नेपाली घरबेटीको अनुभव अचम्मको थियो । त्यो समय जब कामबाट थकित भएर राति ११ बजेतिर किचन छिरेँ खाना बनाउन, अचानक ढोकाबाट आवाज आयो- भाइ, राति भयो, किन यति बेला खाना बनाएको? बाहिरै खाएर आएनौं? रेस्टुरेन्टमै खाएर आएको भए सजिलो हुने थियो नि। बाबू सुतिसकेको छ, कुकरको सिट्ठी नलगाई पकाऊ। बरु एकै दिन धेरै पकाएर राख, २–३ दिन काम लाग्छ। यी कुरा त्यति बेला अचम्म लागे, अलि तितो पनि। तर आज फर्किएर हेर्दा,  घरबेटीहरु दुई थरी हुँदा रैछ्न भन्ने अनुभूति भएको छ। तर यस्तै अनुभव सबैको हुँदैन। बेलायतमै यस्ता नेपाली घरबेटी पनि भेटिन्छन् ,जो कोठा भाडाबाहेक न त बिजुलीको शुल्क लिन्छन्, न त फोहोरको शुल्क माग्छन्। बरु उल्टै बिहान बेलुकाको खाना पकाएर राखिदिन्छन्। कतिपयले त काममा जाँदा खाजा प्याक गरेर झोलामा हालिदिन्छन् , त्यो माया शब्दमा बयान गर्न सकिँदैन। तर, त्यस्ता घरबेटी थोरै मात्रै छन् बेलायतमा। आज पनि बेलायतमा धेरै नेपाली घरबेटीहरू यस्ता छन्: जसको कोठा साँघुरो हुन्छ, जसले भाडा आवश्यकता भन्दा दोब्बर लिन्छन्, दुई – तीन महिनाको एडभान्स भुक्तानी माग्छन्, पाहुना ल्याउन नपाइने नियम राख्छन्, र भाडा एक दिन ढिलो भयो भने मानसिक तनाव दिन्छन्, अरुलाई गुनासो गर्छन्।

हामी बुझ्छौं, घर किन्ने काम सजिलो थिएन, पसिना बगाएर कमाएको सम्पत्ति हो। त्यसको मूल्य तिर्न हामी तयार छौं। तर हामी पनि त तपाईंहरूकै जस्तै युवावस्थाबाट गुज्रिरहेका छौं, संघर्ष, चुनौती र सपना बोकेर। हामी पनि खोजिरहेका छौं, परदेशमा थोरै अपनत्व, थोरै समझदारी। अरू देशको नागरिकले यस्तो हर्कत गरेको भए, चुपचाप  मन बुझाइन्थ्यो होला, पराई हो, आ होस् भन्ने हुन्थ्यो होला। तर जब आफ्नै नेपालीले भन्छन् – केही हुँदैन तेरो यहाँ, काम छैन भने भाडा कसरी तिर्छस? हाम्रो घर फोहोर बनाएउ, त्यो बेला मन चिसिन्छ, आँखा रसाउँछ। त्यो चोट गहिरो हुन्छ, किनकि त्यो चोट अपनत्वबाट आएको हुन्छ। पराईको क्रूरता भुल्न सकिन्छ, तर आफ्नाको कठोरता बिर्सन सकिँदैन। सबै नेपाली घरबेटी नराम्रा हुँदैनन्। कतिले माया दिन्छन्, सहारा दिन्छन्, परिवारजस्तै व्यवहार गर्छन्। तर अधिकांशले अपनत्वको नाममा स्वार्थ लुकाउँछन्। र ती व्यवहारहरूले परदेशमा संघर्ष गरिरहेका युवाहरूको आत्मबल कमजोर बनाइदिन्छन्। हामी कसैको सम्पत्ति प्रयोग गरिरहेका छौं, त्यसको मूल्य तिर्ने दायित्व हाम्रो हो। तर दया, माया र आत्मीयता बेच्न पाइँदैन। हामी तपाईंको घरमा बसिरहेका छौं, हो। तर तपाईं हाम्रो हृदयभित्रको देशमा बसिरहनु भएको छ। त्यसैले व्यवहारमा मात्र होइन, भावनामा पनि नेपाली बनौं।

लेखन: सुशील गौतम (हाल बेलायत)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू