मंगलबार, १५ जुलाइ, २०२५
07:54 | १२:३९

ब्यूटी पेजेन्टबाट बिनुको छलाङ एनआरएनए यूकेमा

नेपाली लिङ्क जुलाइ १४, २०२५

लन्डन । एनआरएनए यूके महिला संयोजकमा निर्विरोध निर्वाचित भएपछि बिनु लामिछाने घिमिरेलाई यतिखेर बधाइको ओइरो छ । एनआरएनए यूके ‘डेब्यू’ उनका लागि सुःखद शुरुवात बनेको छ ।

दुई सन्तानकी आमा उनी पेशाले नर्स हुन्, महिला सशक्तिकरण र सामुदायिक विकासका लागि एक जोसिलो वकालतकर्ता पनि ।

एनआरएनए यूकेको नयां जिम्मेवारी आफ्नो उद्देश्य साकार पार्न थप उर्जा बनेर आएको बिनुले नेपालीलिंकसंग बताइन् । ‘मेरो लक्ष्य सरल तर शक्तिशाली छ । एक महिला, एक परिवार र एक समुदायलाई एकैपटक प्रेरणा दिने, उत्थान गर्ने र दिगो परिवर्तन सिर्जना गर्ने छ’, उनी भन्छन् ।

भर्सटायल बिनुले नेपलिज नर्सिङ एसोसिएसन यूकेमा पनि काम गरिन्, न्यू कमर्स नर्सहरुलाई प्रेरणाश्रोत बनेर । सन् २०१८ मा मिसेस नेपाल यूके उपाधिले विभूषित उनी मिसेस युनिभर्स प्रतियोगिता जस्तो विश्वव्यापी मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स डिभाइन २०१९ को उपाधिबाट सम्मानित समेत भइन् ।

‘मलाई विश्वास छ कि ब्यूटी पेजन्ट एक शक्तिशाली प्लेटफर्म हो जसले आत्मविश्वास, व्यक्तित्व विकास र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्दछ । विशेष गरी आफू र अरूलाई उत्थान गर्न प्रयासरत महिलाहरुका लागि यो उत्कृष्ट माध्यम बन्न सक्छ’, उनले भनिन् ।

आफ्नो व्यावसायिक यात्राका साथै उनी महिलाका लागि उद्यमशीलता र सशक्तिकरण कार्यक्रम सञ्चालनमा सक्रिय रूपमा संलग्न छिन् ।

‘मैले समुदायका महिलाहरुलाई स्वतन्त्रता निर्माण गर्न, नयाँ सीपहरू प्राप्त गर्न र उनीहरूको व्यक्तिगत विकासमा ध्यान केन्द्रित गर्न मद्दत गरिरहेको छु’, उनी भन्छिन्, ‘म सामुदायिक सेवामा पनि गहिरो रूपमा जोडिएको छु विशेष गरी नेपाली समुदायभित्र । नेपाली नर्सिङ एसोसिएसन यूके र विभिन्न सामाजिक संस्थामार्फत धेरै वर्षदेखि गर्वका साथ समुदायको सेवा गर्दै आएको छु । समाजमा अर्थपूर्ण प्रभाव पार्न मेरो ज्ञान, विशेषज्ञता र अनुभव शेयर गर्न पाउंदा गर्व लाग्छ ।’

मिसेस नेपाल यूके २०१८

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू