सोमबार, १४ जुलाइ, २०२५
12:52 | १७:३७

लन्डनमा आउंदो शनिबार दोश्रो डांफे नकआउट ब्याडमिन्टन च्याम्पियनसीप

नेपाली लिङ्क जुलाइ १३, २०२५

लन्डन । डांफे ब्याडमिन्टन सोसाइटी वेष्ट लन्डनले आउंदो सप्ताहन्त लन्डनमा दोश्रो डांफे नकआउट ब्याडमिन्टन च्याम्पियनसीप गर्ने भएको छ ।

डांफे ब्याडमिन्टन सोसाइटी वेष्ट लन्डनले आइतबार साउथ ह्यारोस्थित भट्टी रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि आगामी १९ जुलाई शनिबार फेल्थाममा ओपन टुर्नामेन्ट गर्न लागिएको जनाएको हो ।

उक्त प्रतियोगितामा मेन्स् सिंगल, मेन्स डबल, मेन्स डबल इन्टरमिडिएट, लेडिज डबल, मिक्सड डबल, भेट्रान डबल र सुपर भेट्रान डबल्स् गरि ७ क्याटेगोरिजमा प्रतिष्पर्धा हुने सोसाइटीले जनाएको छ ।

डांफे ब्याडमिन्टन सोसाइटी वेष्ट लन्डनका अध्यक्ष लोकजित गुरुङले यसपटक विजेतालाई पुरस्कार राशी बढाइएको जनाउंदै १५ जुलाई मध्यरातसम्म दर्ता गर्ने समयसीमा रहेकाले इच्छुकलाई भाग लिन अपिल गरे । अध्यक्ष गुरुङले समुदायमा सकारात्मक सन्देश प्रवाह र स्थानीय खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्ने अवसर जुटाउन प्रतियोगिता गरिएको प्रष्टयाए ।

प्रतियोगितामा विदेशी खेलाडी रहने भएपनि आफूहरुले नेपालीलाई नै बढी प्राथमिकता दिएको बताए । उनले प्रतियोगिताका प्रायोजकहरुको सहयोगबाट नै यो इभेन्ट सम्भव भएको बताउंदै धन्यवाद दिएका थिए ।

सोसाइटीका सचिव महेश बानियाले पहिलो च्याम्पियनसीप सफलतापछि यसपटक आफूहरु झन् उत्साहित भएको बताउंदै प्रतियोगिता समापनपछि विभिन्न मनोरन्जनात्मक खेल तथा सांगीतिक प्रस्तुति रहने जनाए । उनले खेलमा धेरैलाई अवसर प्रदान गर्न भेट्रान र सुपर भेट्रानको एज क्राइटेरिया परिवर्तन गरिएको पनि उल्लेख गरे ।

मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका मोर्गेज एड्भाइजर तथा खेलाडी किशोर रानाले प्रतियोगिताका क्याटेगोरी, पुरस्कार र अन्यबारे जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुनिल श्रेष्ठ, मिडिया म्यानेजर मिरा गुरुङ र सदस्य विनय बास्तोलाले पनि खेलसंग सम्बन्धित विभिन्न धारणा र अनुभव शेयर गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक नेपलिज सेन्टर हेजका सञ्चालक जिनेश गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत डांफेलाई प्रायोजन गरेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा ए स्टार फाइनान्सियल सोलुसन्स् यूके र नेपलिज सेन्टर हेज छन् भने कमान एण्ड को. चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स, रुबी एम्स्, गोर्खा कन्सट्रक्सन लगायतको सह-प्रायोजन छ ।

सन् २०१८ मा लोकजित गुरुङले स्थापना गरेको सोसाइटीले अहिले ब्याडमिन्टन सम्बन्धि प्रशिक्षण समेत दिएर खेलाडीलाई यसप्रति आकर्षित गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू