विशेष कार्यक्रमसहित आइतबार समापन हुंदै आठौं पिपल नेपालकप क्रिकेट



लन्डन- बेलायतको नेपाली समुदायमा हरेक वर्ष आयोजना हुंदै आएको पिपल नेपालकप क्रिकेटको आठौं संस्करणको फाइनल आइतबार हुने भएको छ ।
पोखरेली मञ्च यूकेको आयोजना रहेको प्रतियोगिताको सेमीफाइनल, फाइनल तथा समापन रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सोही दिन हुन लागेको हो ।
१२ टीम सहभागी प्रतियोगिताअन्तर्गत गत आइतबार र बुधबार सम्पन्न समूह चरणका खेलहरुबाट ४ टीमले सेमीफाइनलमा स्थान बनाएका छन् । आफ्नो समूहको विजेता बन्दै हिमालयन क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब, मिडल्यान्ड वारियर र माया क्रिकेट क्लब ए सेमीफाइनल प्रवेश गरेका छन् ।
आइतबार सेमीफाइनल तथा फाइनल खेलहरु सञ्चालन हुनेछन् । साथै, विशेष कार्यक्रमसहित आठौं संस्करणको पीपल नेपालकप क्रिकेटको समापन पनि गरिंदैछ ।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि समेतको उपस्थिति रहने उक्त अवसरमा नेपालबाट आएका गायिकाद्वय प्रिया गुरुङ र पवित्रा गुरुङका साथै डान्सर आरुषी मगरले प्रस्तुति दिंदैछन् । कार्यक्रमस्थलमा नेपाली खानाका स्टलहरु समेत राखिनेछ ।
आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बेलायतस्थित नेपाली खेलाडीहरुको प्रोत्साहन र सम्मानका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताउँछन् । उनले प्रतियोगिताको फाइनल हेर्न र खेलाडीहरुलाई हौसला प्रदान गर्न उपस्थित भइदिन समेत बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५